भद्रपुर । अविरल वर्षाका कारण दक्षिणी झापाको कचनकवलको जनजीवन प्रभावित बनेको छ । वर्षाले पालिकाका अधिकांश खोला तथा नदीहरूमा पानी बहाव बढेपछि कतै डुबान, त कतै कटानले बस्तीहरू उच्च जोखिममा रहेको छ । पानीको निकास नहुँदा सहरी क्षेत्रका पालिकाहरू पनि जलमग्न बनेको छ ।
कचनकवलको बनियानी बजार भित्र र आसपासका घरमा अविरल वर्षाले डुबानमा परेको छ । घर–आँगनमा वर्षाको पानी २ फिटसम्म जमेको छ । बनियानी बजार र चौकमा जमेको पानी निकासको उचित व्यवस्थापन हुन लामो समय देखि भएकोले बर्सेनि समस्या भोग्नु परिरहेको छ भने सम्बन्धित वडा नम्बर ६ कार्यालयले समन्वय गरिरहेको भएता पानी ढल निकासको नाला घर अगाडि बन्द गर्ने स्थानीयको कारण डुबानले सताएको हो ।
खोलाले तटीय क्षेत्रको ३५.४० मिटर बाँध कटान गर्दै खेतबारीसम्म पानी आइपुग्न लागेको छ भने निरन्तर पानी परेमा नदीमा आएको बाढीले धान खेती डुबान गर्दै कचनकवलका अधिकांश वडा र बस्ती क्षेत्रका ८० देखि ९० घर डुबानमा पर्ने सम्भावना देखिएको छ ।
भैसावाडी , पाठामारी ,डागाबारी बस्ती डुबानबाट जोगाउन बाँध मेची नदीमा बाँधिए पनि तत्काल फुट्ने सम्भावना बढेकाले सम्बन्धित निकायसँग समन्वय गर्नुपर्ने देखिन्छ । अहिलेसम्म बाढीका कारण गाउँपालिका भित्रमा कुनै मानवीय र भौतिक क्षति नभएको जानकारी छ । मेची, झिङ, शिशु, बडझोडा ,बिरिङ, अङगुलखुट्टा लगायतका खोलामा आएको बाढीले कचनकवल गाउँपालिका–१ स्थित पिण्डलवारी आसपासका बस्ती जोखिम रहेको छ ।
त्यसै गरी कचनकवल– ५ स्थित पाठामारीमा मेची नदीले तटीय क्षेत्र कटान गर्दै नदीको पानी बस्ती नजिकै पुगेको छ । मेची नदीले गत वर्ष ११२ नम्बर सीमा पिलर बगाएर लगेपछि त्यसका बासिन्दा उच्च जोखिममा रहेको सशस्त्र प्रहरी बल नेपाल बोर्डर आउट पोस्ट पाठामारीले जनाएको छ ।
११२ नम्बर पिलर नजिकै नेपाली र भारतीय दुवै बस्ती रहेको छ । सबैभन्दा बढी जोखिममा भारतीय नागरिक रहेको बिओपी पाठामारीका सई सुवास राजवंशीले जानकारी दिए । नदीमा पानीको बहाव बढेमा बाँकी रहेको तटीय क्षेत्र पनि कटान गर्दै बस्ती बगाउने खतरा रहेको उनले जनाए । कचनकवल– ४ स्थित ११९/२८ नम्बर सानो पिलर बगाउने अवस्थामा पुगेको छ ।
जमुना नदीले तटीय क्षेत्र कटान गर्दै पिलर ढल्ने अवस्थामा पुगेको सशस्त्र प्रहरी बल नेपाल बोर्डर आउट पोस्ट कचनकवलका प्रहरी निरीक्षकले जानकारी दिए । साथै ११९/२३ नम्बर पिलर पानीमा डुबेको उनको भनाइ छ । साथै कचनकवलका अधिकांश स्थान जलमग्न भएको स्थानीयबासीहरू बताउँछन् ।
अविरल वर्षा कारण झापाको सदरमुकाम भद्रपुर जलमग्न बनेको छ । नगरमा ढल निकासको उचित व्यवस्थापन नहुँदा नगर क्षेत्र जलमग्न बनेको हो । सडक नालीमा जमेको पानी घर आँगनमा पस्न थालिसकेको छ ।
स–साना नदी तथा खोला आसपासका बस्तीहरू समेत जोखिममा रहेको छ । नाली र खोलाका पानीहरू घरभित्र पसेपछि स्थानीयबासी समस्या परेका छन् । भानु चोकदेखि वोक्तबारी जाने सडक नालीको पानी पसल तथा घर आँगनमा पसेको भद्रपुर– ७ निवासी कालीचरण राजवंशीले जानकारी दिए । ढल निकासको उचित व्यवस्थापनमा नगरपालिकाले ध्यान नदिँदा पानी डुबान भएको उनले जनाए ।
त्यस्तै नगर क्षेत्रका होचो भूभागहरू डुबानमा परेका छन् । अधिकांश सडकमा पानी जमेको स्थानीयहरू बताउँछन् । जिल्लाका मेची, निन्दा, माई, कनकाई, मावा, देउनियाँ, हडिया, अदुवालगायतको खोलामा पानी बहाव बढेको जनाइएको छ ।