भारी वर्षा, बाढी, पहिरो, भू–क्षय जस्ता घटनाबाट हुन सक्ने सम्भावित क्षतिलाई न्यूनीकरण गर्न प्रभावकारी व्यवस्थापन कसरी गर्न सकिन्छ भन्ने सन्दर्भमा बिहीबार धनकुटामा सरोकारवालाबीच छलफल गरिएको छ ।
नेपाली सेनाको भीमदल गण धनकुटाको आयोजनामा सरोकारवाला निकायसँग समन्वय र सहकार्य गरी कसरी विपद् व्यवस्थापन गर्न सकिन्छ भन्ने उदेश्यले जिल्ला स्तरीय एकीकृत ‘अभ्यास हातेमालो–५’ छलफल कार्यक्रम सम्पन्न गरिएको हो ।
जिल्ला विपद् व्यवस्थापन समिति धनकुटाको संयोजनमा सम्पन्न भएको छलफल कार्यक्रममा विपदको समयमा आईपर्ने समस्या, चुनौतीलाई सबै सरोकारवाला मिलेर कसरी व्यवस्थापन गर्ने भन्ने विषयमा प्रस्तुति तथा छलफल भएको थियो ।
छलफलमा भीमदल गण, जिल्ला प्रशासन कार्यालय, नेपाल प्रहरी, सशस्त्र प्रहरी, राष्ट्रिय अनुसन्धान, उद्योग वाणिज्य संघ र स्थानीय तहका प्रतिनिधिको सहभागिता थियो ।
कार्यक्रममा एलईओसी, डिईओसी÷ पिईओसी स्थापना गरी काल्पनिक कथामा आधारित भएर टेबल अभ्यास समेत गरिएको थियो । सो अवसरमा प्रतिकार्य अभ्यासमा खोज उद्धारको लागि आवश्यक पर्ने सामग्री प्रर्दशन गरिएको थियो ।
कार्यक्रमलाई सम्बोधन गर्दै प्रमुख जिल्ला अधिकारी थानेश्वर गौतमले सरोकारवाला निकाय र समुदायलाई सजग र सचेत अवस्थामा राख्न सके जस्तोसुकै विपद् आए पनि न्यूनीकरण गर्न सकिने बताए ।
उनले विपद्मा जिम्मेवारी बाँडफाँड गरेर व्यवस्थापन गर्न जिल्ला विपद् व्यवस्थापन समिति धनकुटा एकीकृत ‘हातेमालो कार्यक्रम–५’ मार्फत् तयारी अवस्थामा रहेको बताए ।
धनकुटाका स्थानीय तहहरुले विपद् व्यवस्थापनमा त्यति ध्यान दिइरहेका छैन्न, यस विषयमा जनप्रतिनिधिलाई झक्झक्याउन पत्रकारहरुलाई प्रजिअ गौतमले आग्रह गरे ।
उनले मनसुनजन्य विपद् न्यूनीरकणका लागि ३० दिन लामो कार्ययोजना तयारी अवस्थामा रहेको समेत स्पष्ट पारे
मनसुनको समयमा आइपर्ने विपद् न्यूनीकरण गर्न जिल्लाका सरोकारवालासँग समन्वय गरेर अघि बढ्न ‘अभ्यास हातेमालो–५’ कार्यक्रमको आयोजना गरिएको भीमदल गणका गणपति प्रमुख सेनानी सुमन थापाले बताए ।
उनले सरोकारवालासँग छलफल, खोज उद्धार तथा राहत वितरणदेखि पुनःस्थापनासम्म कसरी गर्ने भन्ने विषयमा काल्पनिक अभ्यास गरिएको बताए ।
यस्तो अभ्यासले विपद्मा सामुहिक रुपमा समन्वय गरेर विपद् प्रतिकार्यमा परिचालन हुन सहजता ल्याउने विश्वास प्रमुख सेनानी थापाले गरेका छन् ।
छलफल कार्यक्रममा सहायक प्रमुख जिल्ला अधिकारी अन्जन न्यौपाने, भीमदल गणका सेनानी नवीन गुरुङ, जिल्ला रेडक्रस सोसाइटीका वरिष्ठ कार्यक्रम अधिकृत विष्णुकुमार जोशी, सशस्त्र प्रहरी बल नेपाल नं. ६ गुल्म हेडक्वाटर छिन्ताङ धनकुटाका प्रहरी निरिक्षक विश्वनाथ पोख्रेल, जिल्ला स्वास्थ्य कार्यालय धनकुटाका उदयशंकर शाह, जिल्ला प्रहरी कार्यालयका प्रहरी नायव निरीक्षक डम्बरबहादुर थापा, धनकुटा नगरपालिकाका शिक्षा शाखा प्रमुख नगेन्द्रमणी श्रेष्ठले आ–आफ्नो कार्यालयको तर्फबाट विपद् न्यूनीकरणका लागि भइरहेको तयारीबारे प्रस्तुततीकरण गरेका थिए ।
कार्यक्रममा नेपाल पत्रकार महासंघ धनकुटा शाखाका अध्यक्ष नगेन्द्र राई, गैह्र सरकारी संस्था महासंघ, धनकुटाका अध्यक्ष मीन सुवेदी, हुसाडेक नेपाल धनकुटाका अध्यक्ष सरोज भूजेललगायतले मनसुनको कारण हुन सक्ने जोखिमका बारे जिज्ञासा राखेका थिए ।
सोही अवसरमा भीमदल गण सल्लेरी ब्यारेक परिसरमा विभिन्न प्रजातिका वृक्षरोपण कार्यक्रम समेत आयोजना गरिएको थियो ।