प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले मुलुकको अर्थतन्त्रमा परेको दबाब, अप्ठ्यारा फुकाउन नेपाल उद्योग परिसङघसहित निजी क्षेत्रसँगको सहकार्यलाई प्राथमिकतामा राखेको बताउए । 

नेपाल उद्योग परिसंघ (सिएनआई) का नवनिर्वाचित पदाधिकारीसँग आज प्रधानमन्त्री निवास बालुवाटारमा छलफल गर्दै उनले आर्थिक एवं औद्योगिक विकासका लागि परिसंघबाट प्रत्यक्ष रुपमा नीतिगत तथा व्यावहारिक सुझाव प्राप्त भइरहेको र त्यसलाई सरकाले प्राथमिकतामा राखेको बताए । 

परिसंघका नवनिर्वाचित अध्यक्ष राजेशकुमार अग्रवालको नेतृत्वमा गएको परिसंघ पदाधिकारीको टोलीले प्रधानमन्त्रीसँगको भेटमा पुँजीगत खर्च समयमै हुने वातावरणका लागि आग्रह गरेको थियो । परिसंघ अधयक्ष राजेश अग्रवालले बजेटको सफल कार्यान्वयनका लागि सरकारले घोषणा गरेको अनुगमन समितिमा निजी क्षेत्रको प्रतिनिधित्व गराउन  आग्रह गरे । 

बजेटले लिएको छ प्रतिशतको आर्थिक बृद्धि हासिल गर्न, अर्थतन्त्रलाई चलायमान बनाउन खुकुलो मौद्रिक नीति आवश्यक रहेकोमा अग्रवालले जोड दिए । उनले स्वदेशी उत्पादनको प्रबद्र्धन एवं सरकारको राजस्व बढाउन चोरी पैठारी नियन्त्रण गर्न निर्मम ढङ्गले प्रस्तुत हुन आग्रह गरेका छन् । 

हालै प्रधानमन्त्रीको भारत भ्रमणका क्रममा भएको विद्युत् निर्यात तथा विद्युतीय भुक्तानी सम्बन्धी समझदारी छिटो कार्यान्वयनमा लैजानु पर्नेमा पनि उनले जोड दिएका छन् ।

—रासस