भद्रपुर । झापाको मेचीनगरमा चालु आर्थिक वर्ष २०७९/०८० को नौमहिनामा १ सय ५३ जना नयाँ क्षयरोगी जना नयाँ क्षयरोगी थपिएका छन् । मेचीनगर नगरपालिकाको स्वास्थ्य शाखाका अनुसार गत आर्थिक वर्ष २०७८/०७९ को एकवर्षे अवधिमा १ सय ८६ जना क्षयरोगी फेला परेका थिए । स्वास्थ्य शाखा प्रमुख सविता सापकोटा निरौलाका अनुसार नगरका स्वास्थ्यकर्मीहरु क्षयरोगका विरामी खोज्दैं प्रत्येक गाउँ—गाउँ जान थालेका छन् ।

आर्थिक वर्ष २०७८/०७९ को बजेटमा आगामी ५ वर्ष भित्र सवै स्थानीय तहलाई क्षयरोग मुक्त घोषणा गरिने उल्लेख भए अनुसार मेचीनगर नगरपालिकालाई क्षयरोग मुक्त घोषणा अभियान सञ्चालन गर्न पनि क्षयरोगका विरामीहरु खोज्ने अभियान तीव्र छ । स्वास्थ्यकर्मीहरु गाउँ – गाउँ जान थालेपछि क्षयरोगीहरु आफै खुलेर आउन थालेका छन् । यसलाई सकरात्मक लिनुपर्ने स्वास्थ्य शाखा प्रमुख सापकोटा बताउँछिन् ।

हरेक वर्ष क्षयरोगका कारण हुने मानिसको मृत्यु र नयाँ रोगीको सङ्ख्यामा कमि गर्न सरकारले बिभिन्न दातृ संस्थाको सहयोगमा बर्षेनी करोडौ रुपैयाँ खर्च गर्ने गरेको छ । अन्य गैरसरकारी सङ्घ संस्थाहरुले समेत संयुक्तरुपमा सचेतना अभियान सञ्चालन गर्ने गरेको छ ।

शुरुमा क्षयरोगको लक्षण देखिने वित्तिकै उपचारका लागि रोगी नआउँनु नै सबै भन्दा ठुलो चुनौती रहेको छ । क्षयरोगमुक्त पालिका घोषणा अभियान कार्यक्रम अन्तर्गत विभिन्न कार्यक्रमहरु नगरमा सञ्चालन भइरहेका छन् । आगामी आर्थिक वर्ष २०८२/०८३ मा मेचीनगरलाई क्षयरोग मुक्त नगर घोषणा गर्नुपर्ने छ ।

अहिले नगरपालिकाले क्षयरोगका बिरामीहरुलाई पोषणयुक्त खाद्य सामग्री वितरण र क्षयरोग कार्यक्रम सम्बन्धि विभिन्न सङ्घ सङ्गठन र समूहहरुसँग समिक्षालगायतका कार्यक्रम सञ्चालन गर्दै आएको छ । क्षयरोग प्रभावित व्यक्ति र समुदायको सहभागितामुलक योजना अनुगमन मुल्याङ्कन कार्ययोजना समेत गरिएको प्रमुख सापकोटाले जानकारी दिइन् । यस्तै क्षयरोग सम्बन्धि जानकारीमुलक जनचेतना कार्यक्रम समेत निरन्तर सञ्चालन भइरहेको छ ।

क्षयरोग कार्यक्रमको रिभ्यु तथा स्थलगत अध्ययन र अनुगमन जारी छ । केही दिनअघिमात्र राष्ट्रिय क्षयरोग केन्द्र र विश्व स्वस्थ्य सङ्गठनको संयुक्त टिमले क्षयरोग कार्यक्रमको अनुगमन तथा सहयोगात्मक सुपरिवेक्षण र आगामी कार्यक्रमको योजनाका बारेमा समेत छलफल गरेको थियो । स्वास्थ्यकर्मीहरुका लागि तीनदिने क्षयरोग आधारभूत मोडुलर तालिम सम्पन्न गरिसकेको उनको भनाई छ ।

नगरपालिकाभित्र रहेका स्वास्थ्य केन्द्रमा उपचारका लागि आएकाहरुको विभिन्न परीक्षणबाट नगरभित्र क्षयरोग पत्ता लाग्ने गरेको सापकोटाले जानकारी दिइन् । शङ्काश्पद् क्षयरोगीहरुको आम्दा मेची अस्पतालसँग सहकार्य गरेर नगरपालिकाले निःशुल्क एक्स रेको व्यवस्था गरेको छ । आर्थिक वर्षमा २०७७/०७८ मा १ सय ८८ र आर्थिक वर्षमा २०७६÷०७७ मा १ सय ४५ जनामा क्षयरोग पत्ता लागेको हो ।

नगरमा महिलाको तुलनामा पुरुषमा क्षयरोग बढी देखिएको छ । काँकडभिट्टा स्वास्थ्य केन्द्रका प्रमुख लेखनाथ खतिवडाले यो धेरै पुरानो रोग भए पनि अझै नियन्त्रण गर्न नसकिएको बताए । उनीहरु खुलेर उपचारका लागि आउने गरेका छैनन् ।

तौल घटनु , छाती दुख्नु, राती राती ज्वरो आउनु, खकारमा रगत देखिनु, श्वासप्रशवासमा समस्या हुनु दुईहप्ता सम्म लगातार खोकी लागि रहनु लगायत क्षयरोगका लक्षण भएको प्रमुख खतिवडाको भनाई छ । सन् २०५० सम्ममा क्षयरोगलाई पूर्ण रुपमा निवारण गर्ने योजना अन्तर्गत नेपाल सरकारले २०५९ देखि २०६९ सालसम्म दशबर्षे दीर्घकालिन योजना अघि सारेको थियो । वि.सं .२०२१ सालमा नेपाल सरकार, विश्व स्वास्थ्य सङ्गठन र यूनिसेफबीच क्षयरोग नियन्त्रणका लागि त्रिपक्षीय सम्झौता भएको थियो ।

तर, यी अभियान खासै प्रभावकारी बनेका छैनन् । सरकारले प्रत्यक्ष स्वास्थयकर्मीको निगरानीमा क्षयरोगको औषधी सेवन गर्ने “डष्ट प्रोग्राम” पनि अघि सारेको थियो । तर, पनि कार्यक्रम खासै प्रभावकारी बन्न सकेको छैन् । नेपालबाट क्षयरोग क्रमश नियन्त्रण हुदै गईरहेका बेला विदेशबाट फर्किने नेपालीहरुबाट यो रोग नसरोस भन्नका लागि क्यानडा सरकारले नेपाल सरकारसँग मिलेर विश्व स्वास्थ्य सङ्गठनको आर्थिक सहयोगमा टिबी रीच परियोजना समेत शुरु गरेको थियो ।

राष्ट्रिय क्षयरोग कार्यक्रम अन्र्तगत भारतमा बसोबास गरि नेपाल फर्किने श्रमिक, संभावित यौनकर्मी, लागूऔषध प्रयोगकर्ता, तथा अन्य संभावित क्षयरोगीहरुको खोज पडताल गरि उपचारमा राख्न टिबी रिच कार्यक्रम झापासहित मोरङ , पर्सा, कास्की, रुपन्देही, कैलाली र कञ्चनपुरमा यो अभियान शुरु गरिएको थियो । राष्ट्रिय क्षयरोग केन्द्रले प्रति एकलाख जनसङ्ख्या बराबर २ सय ४५ जनामा क्षयरोग देखिने गरेको छ ।

डाक्टर पिताम्बर ठाकुरका अनुसार नेपालमा करिब ६० प्रतिशत वयस्क र ४५ प्रतिशत अन्य समूहका व्यक्ति क्षयरोगबाट सङ्क्रमित छन् । डा ठाकुरका अनुसार कमजोर प्रतिरोधात्मक क्षमताका कारण शारीरिक दृष्टिकोणले कमजोर व्यक्ति क्षयरोगीसँग बढी हेलमेल गरे सहजरुपमा यो रोग सर्न सक्छ ।

खकार, छाला तथा एक्स–रे बाट क्षयरोगका किटाणु पत्ता लाग्ने स्वास्थ्यकर्मीहरु बताउँछन् । स्वास्थ्यकर्मीका अनुसार क्षयरोगको सबैभन्दा खतरा फोक्सोमा किटाणु फेला पर्नु हो । यसबाट पत्ता लागेका क्षयरोगीले समयमै उपचार नपाए एकवर्ष भित्रमा उसले १० देखि १५ जना निःरोगीलाई यो रोग सार्न सक्छ । फोक्सोमा तथा खकार परिक्षणमा किटाणु नदेखिने भए पनि विशेषज्ञहरुले मात्र शरिरका अन्य भागमा क्षयरोगका किटाणु फेला पार्ने गरेका छन् ।