विराटनगर । विराटनगरस्थित कोशी अस्पतालका डोरहाजिरमा काम गर्ने कर्मचारीहरू आन्दोलित भएका छन् । उनीहरूले करारमा नियुक्ति गरिनुपर्ने माग राख्दै शुक्रबार आन्दोलन गरेका हुन् । 

१५ वर्षदेखि डोरहाजिरमा काम गर्दै आएका करिब ७० जना कर्मचारीहरूले करारमा नियुक्ति गरिनुपर्ने भन्दै शुक्रबार सरसफाइ कार्यक्रम रोकेर विरोधमा उत्रिए । डोरहाजिरमा काम गर्ने कार्यालय सहयोगी र स्वीपर रहेका छन् । 

भएका ज्यालादारीका कर्मचारीलाई बाइपास गरेर अस्पतालले करारमा ७ जना कार्यालय सहयोगी नियुक्ति गर्ने तयारी गरेपछि उनीहरू आन्दोलित भएका हुन् । आकस्मिक कक्ष र एनआइसियू सञ्चालन गर्ने भन्दै अस्पतालले करारमा कर्मचारी नियुक्ति गर्ने तयारी गरेको हो । 

यहाँ कार्यरत डोरहाजिरका कर्मचारीहरूले भने १५ वर्षदेखि काम गर्दै आएका ज्यालादारी कर्मचारीलाई करारमा नियुक्ति गर्नुपर्ने भन्दै आन्दोलनमा उत्रिनुपर्ने अवस्था आएको एक जना कर्मचारीले बताए । ‘हामी वर्षौँ देखि ज्यालादारीमा काम गर्दै आएका छौँ । आजसम्म कोशी अस्पतालमा काम गरेको १५ वर्ष भइसक्यो ।

तर, हामीलाई राज्य स्थायी वा करारमा नियुक्ति गर्ने चासो देखाएन,’ एक जना ज्यालादारीका कर्मचारीले भने, ‘अहिले हस्पिटलमा करारमा कार्यालय सहयोगी नियुक्ति गर्ने तयारी गरिएको छ । यहाँ भएका कर्मचारीलाई नियुक्ति गर्नुको साटो बाहिरबाट आफ्नो मान्छे ल्याउने खेलमा हस्पिटल प्रशासन लागि परेको छ ।’ 

यता अस्पताल विकास समितिका सदस्य मुकेश बुढाथोकीले अस्पतालमा थप नयाँ सेवा सुचारु गर्ने भएकोले  दक्ष जनशक्ति थप गर्ने तयारी गरिएको बताए । ‘कोशी अस्पतालको आकस्मिक कक्षा भित्र ल्याब  र फार्मेसी सञ्चालन गर्ने तयारी गरिएको छ । त्यससँगै बच्चाको एनआइसियू पनि सञ्चालनको तयारी  छ,’ उनले भने, ‘त्यसको लागि दक्ष जनशक्तिको आवश्यक पर्दछ । त्यही भएर केही सङ्ख्यामा यसअघि हस्पिटलमा भोलेन्टियर गर्दै आएका दक्ष व्यक्ति छनौट गरिने भनिएको हो ।’