धरान उपमहानगरपालिकाका नगर प्रमुख हर्कराज राईले पत्रकारितामा जवाफदेहिताको प्रवद्र्धन गर्नुपर्नेमा जोड दिएका छन् । तथ्य र प्रमाणसहित गरिने पत्रकारिताले जनहितमा काम गर्ने उल्लेख गर्दै नगर प्रमुख राईले विकास पत्रकारितामा लाग्न सञ्चारकर्मीलाई आग्रह गरे । 

सञ्चारकर्मी लक्षित अभिव्यक्तिका कारण विवादित नगर प्रमुख साम्पाङले सुशासनको पक्षमा दशक अघिदेखि लड्दै आएको उल्लेख गर्दै भने,‘नगरपालिकालाई भ्रष्टाचारको आरोप लगाउँदा पुष्टिसमेत गर्नुपर्छ, पत्रकारहरु पनि जवाफदेही बन्नुपर्छ, आधारहीन कुरा गर्नुहुँदैन ।’  

पछिल्लो समय पत्रकारहरुसँग असमझदारी बढ्दै गइरहेका अवस्थामा नगर प्रमुख राईले आफू प्रेस स्वतन्त्रता र अभिव्यक्ति स्वतन्त्रताप्रति प्रतिबद्ध रहेको बताए । यद्यपि पत्रकारिताको जवाफदेहिताविहीन पक्षलाई भने आत्मसात् नगर्ने नगर प्रमुख राईले स्पष्ट पारे । 

क्रियाशील   पत्रकार महिला  मनिता चाम्लिङद्वारा सम्पादित प्रकाशित ‘दिव्यरोशनी साप्ताहिक’ पत्रिकाको १९ औं वार्षिकोत्सवको समुद्घाटन गर्दै बिहीबार नगर प्रमुख राईले सुशासन, समृद्धि र विकासका लागि पत्रकारिता हुनुपर्ने विचार व्यक्त गरे ।