भोजपुर । भोजपुरको रामप्रसाद राई गाउँपालिकाले वडा–वडाबाट पालिकाको सेवा विस्तार गरेको छ । गाउँपालिकाले आठ दिने एकीकृत घुम्ती शिविर सञ्चालन गरेर वडास्तरमा सेवा प्रदान गरेको हो ।
सेवा लिनको लागि घण्टौंँ लगाएर गाउँपालिका केन्द्रसम्म आउनुपर्ने सास्तीलाई ध्यानमा राखेर वडास्तरबाट आवश्यक सेवा प्रदान गर्दै आएको गाउँपालिकाले जनाएको छ ।
एकीकृत घुम्ती शिविरअन्तर्गत बैङ्कसँगको सहकार्यमा काम सम्पन्न भएर आवश्यक कागजपत्र मिलेका पाँच लाखसम्मको योजनाको भुक्तानीसमेत वडामा नै दिने लक्ष्य रहेको गाउँपालिकाका उपाध्यक्ष वीरेन्द्र राईले जानकारी दिए ।
स्थानीयलाई सहज सेवा प्रवाहको लागि गाउँ कार्यपालिकाको निर्णयअनुसार सेवालाई वडास्तरसम्म विस्तार गरिएको उनको भनाइ छ ।
एकीकृत घुम्ती शिविरमार्फत् वडामा सेवा पाउँदा स्थानीय खुसी भएका छन् । सेवा लिन गाउँपालिकासम्म जानुपर्ने बाध्यताको अन्त्य भएको स्थानीयवासी सीता मगरले बताइन् ।
शिविरमा ज्येष्ठ नागरिकको स्वास्थ्य परीक्षणसमेत गरिएको छ । गाउँपालिकाले सेवा सञ्चालनमा गरेको नयाँ अभ्यासले सहजता थपिएको स्थानीय वृद्ध भट्टराईले बताए ।
अशक्त तथा वृद्धवृद्धा नागरिकको समस्यालाई मध्यनजर गरेर सेवा दिइएको वडा कार्यालयले जनाएको छ । नागरिकलाई सहज सेवा दिन वडाले पहलकदमी गरिरहेको वडाध्यक्ष रामु थापामगरले बताए ।
नागरिकलाई स्थानीय सरकार भएको अनुभूति दिलाउन घुम्ती शिविरमार्फत् सेवा दिइएको गाउँपालिकाका निमित्त प्रमुख प्रशासकीय अधिकृत अनन्त राईले बताए । आगामी दिनमा सेवालाई अझ सहज हुने गरी विस्तार गर्ने योजना रहेको उनको भनाइ छ ।