धरान- लिम्बु समुदायको संस्कृतिमा आधारित चलचित्र ‘माङ्गेन्ना’ धरानमा फेरि प्रदर्शन हुने भएको छ ।

केही समयअघि प्रिमियर शो भएको ‘माङ्गेन्ना’ सोमबार विशेष प्रदर्शन हुने भएको हो । सोमबार विहान ८ बजे धरानको फ्रेन्ड्स सिनेमा हलमा प्रदर्शन हुने चलचित्रका प्रस्तुतकर्ता सागर सिगलले जानकारी दिए ।

अग्रज कलाकार प्रेम सुब्बाको कथा तथा निर्देशन रहेको ‘माङ्गेन्ना’ चेली-माइतीको सम्बन्धको कथामा आधारित छ । 

चलचित्रमा लामो समयदेखि अभिनय तथा चलचित्र निर्माणमा सक्रिय किशोर सम्बाहाङ्फेसँगै टिका माखिम, आरबी थाङ्देन, ममता लिवाङ, विपना आङछङ्वो, विनोद पोमूलगायतले अभिनय गरेका छन् । 

चलचित्रले गाउँघरमा विद्यालय व्यवस्थापन समिति, सामुदायिक वन समिति जस्ता समितिमा हुने स्थानीय राजनीति र अनियमितताको कथा पनि प्रस्तुत गरेको छ । तेह्रथुमको छथर क्षेत्रमा छायाँकन भएको चलचित्रले सो क्षेत्रका पर्यटकीय तथा ऐतिहासिक स्थलहरुको प्रवद्र्धन समेत गरेको छ ।

मिक्लाजुङ फिल्म प्रालिका लागि सागर सिङ्गलको प्रस्तुतिमा निर्माण भएको चलचित्रमा डिल्ली फोम्बोको पाश्र्व संगीत झुमा लिम्बु, लक्ष्मण लिम्बु लगायतको गीत समेटिएको छ । टिका माखिम र आरबी थाङ्देनले निर्माण गरेको चलचित्रलाई प्रकाश सुब्बाले छायाँकन गरेका हुन् भने हेमन योन्जनले सम्पादन गरेका छन् ।