धरान । सप्तरीको खडक नगरपालिकामा आगलागी हुँदा १५ घर जलेर नष्ट भएको छ ।

जिल्ला प्रहरी कार्यालय सप्तरीका अनुसार घुरबाट सल्केको आगोका कारण १५ घर जलेर खरानी भएको हो । प्रहरीका अनुसार करिब ६५ लाख रुपैयाँ बराबरको क्षति भएको छ ।

जिल्ला प्रहरी कार्यालयका अनुसार खडक नगरपालिका–९ बज्राहीगुठी टोलमा घरपछाडि बालेको घुरबाट आगो सल्किँदा १५  घरसँगै खाद्यान्न, भाँडावर्तन, लत्ताकपडा जल्दा ६५ लाख २० हजार रुपैयाँ बराबरको क्षति भएको हो ।

आगोले सुरेन्द्रप्रसाद चौधरी, धीरेन्द्र चौधरी, राजेन्द्रप्रसाद चौधरी, हरिहरदेवी चौधरी, भरत चौधरी, मोहनप्रसाद चौधरी, शत्रुघ्न चौधरी, रविन चौधरी, अमिन चौधरी, सचिन चौधरी, सबुरलाल चौधरी, मिश्रीलाल चौधरी, हरि चौधरी, नेमन चौधरी र नन्द चौधरीको घर जलेको हो ।

आगो नियन्त्रणमा लिनका लागि शम्भुनाथ र राजविराज नगरपालिकाको दमकलको सहयोग लिइएको थियो । स्थानीय र प्रहरीको सहयोगमा आगो नियन्त्रणमा लिइएको जिल्ला प्रहरी कार्यालय सप्तरीका डिएसपी नरेशकुमार सिंहले जानकारी दिए ।