देउराली ।  इटालीयन सरकारले आर्टिफिसियल इन्टेलिजेन्स च्याटबोट च्याटजीपीटीमाथि प्रतिबन्ध लगाएको छ । च्याटजीपीटीलाई कुनै देशमा प्रतिबन्ध लगाइएको यो पहिलो घटना हो ।

यसअघि फ्रान्सेली विश्वविद्यालयले च्याटजीपीटीको प्रयोगमा प्रतिबन्ध लगाएको थियो । इटालियन डाटा प्रोटेक्सन अधिकारीहरूका अनुसार च्याटजीपीटीले मानिसहरूको व्यक्तिगत जानकारी र गोपनीयतामाथि खेलबाड गरिरहेको छ ।

इटालीका डाटा सुरक्षा अधिकारीहरूले एआई मोडेलसँग सम्बन्धित गोपनीयताको चिन्ता रहेको बताएका छन्। अधिकारीहरूले " तत्काल प्रभावका"  ओपन एआईमाथि प्रतिबन्ध लगाउने र अनुसन्धान गर्ने बताएको छ । इटालियन सरकारले यो च्याटबोटले मानिसहरूको व्यक्तिगत जानकारी सङ्कलन गरिरहेको बताएको छ ।

साथै, च्याटजीपीटीमा न्यूनतम उमेर प्रमाणीकरणको लागि कुनै विकल्प छैन, जसले नाबालिगहरूलाई पनि संवेदनशील जानकारी दिन सक्छ र उनीहरूको विकास र जागरूकतामा प्रतिकूल प्रभाव पार्न सक्छ। च्याटजीपीटी अमेरिकी स्टार्ट-अप ओपन एआईद्वारा सिर्जित एक प्रोग्राम हो जसमा माइक्रोसफ्टकाे समर्थन छ।

डाटा प्रोटेक्सन अफिसरका अनुसार च्याटजीपीटीले पहिले मानिसहरूको व्यक्तिगत जानकारी सङ्कलन गर्छ र त्यसपछि त्यसलाई आफू अनुकूल प्रयोग गर्छ । 

इटाली सरकारकाे उक्त प्रतिबन्धलाई लिएर च्याटजीपीटी बनाउने कम्पनी ओपन एआईले  खण्डन गरेको छ ।  ओपन एआईले गोपनीयता सम्बन्धी कानुनको पालना गर्ने बताएको छ । कम्पनीका अनुसार एआई टुल ट्रेन्ड गर्न मानिसहरूको व्यक्तिगत जानकारीको प्रयोग कमै मात्र गरिएको छ । ओपन एआईले इटालीको डाटा सुरक्षा नियामकको अनुरोधमा इटालीका प्रयोगकर्ताहरूका लागि च्याटजीपीटी बन्द गरेको जनाएको छ। तर हामी चाँडै फर्कनेछौँ। कम्पनीका सिइओ साम अल्टम्यानले ट्वीट गर्दै यो जानकारी दिएका हुन् ।