धनकुटा । भोलि (शुक्रबार) देखि सुरु हुन लागेको २०७९ सालको माध्यमिक शिक्षा परीक्षा (एसईई) मा कोशी प्रदेशबाट ८० हजार १ सय विद्यार्थी सामेल हुने शिक्षा विकास निर्देशनालय धनकुटाले जनाएको छ ।

निमित्त शिक्षा निर्देशक पुष्पराज बरालका अनुसार २०७९ सालको एसईई परीक्षामा नियमिततर्फ ७४ हजार ५ सय ४०, प्राविधिक धारतर्फ २ हजार ९ सय ५१ र ग्रेडवृद्धितर्फ १ हजार ३ सय ४६ र नियमित खुल्लातर्फ १ हजार २ सय ५२ गरी ८० हजार १ सय परीक्षार्थी छन् । जसका लागि ३ सय ७८ वटा परीक्षा केन्द्र तोकिएको छ । एसईई परीक्षालाई मर्यादित र अनुशासित ढङ्गले सञ्चालन गर्नको लागि ३ सय ७८ केन्द्राध्यक्ष, सहायक केन्द्राध्यक्ष ५ सय, ३६ जना, निरीक्षक ४ हजार १८ जना रहेका छन् । त्यस्तै परीक्षा सहायक ७ सय ९७ जना र सहयोगी १ हजार ६ सय ६ जना गरी कुल ७ हजार ३ सय ३५ शिक्षक÷कर्मचारी परिचालन हुने बताए । त्यसैगरी ३ सय ७८ परीक्षा केन्द्रमा ५ हजार ६ सय ७० जना सुरक्षाकर्मीसहित जम्मा १३ हजार ५ जना शिक्षक र राष्ट्रसेवक कर्मचारीहरू परिचालन हुने निमित्त शिक्षा निर्देशक बरालले जानकारी दिए ।

निमित्त निर्देशक बरालका अनुसार यस वर्षको एसईईमा सबैभन्दा बढी मोरङबाट परीक्षार्थी रहेका छन् । उनका अनुसार मोरङबाट १८ हजार १ सय १३ जना सहभागी हुँदै छन् । मोरङमा ७१ वटा केन्द्र रहेको छ भने नियमिततर्फ १६ हजार २ सय ७८, प्राविधिक धारतर्फ ६ सय ४४, ग्रेडवृद्धि १ सय ७३, नियमित खुल्लातर्फ १ हजार १८ गरी १८ हजार १ सय १३ जना परीक्षार्थी सहभागी हुनेछन् । त्यसैगरी सबैभन्दा कम सोलुखम्बु जिल्लाबाट २५ वटा केन्द्रमा १ हजार ७ सय ८२ परीक्षार्थी सहभागी हुँदैछन् ।

सोलुखम्बुमा नियमिततर्फ १ हजार ६ सय ८५, प्राविधिक धार तर्फ ६३ जना, ग्रेडवृद्धि ५ जना, नियमित खुल्ला २९ जनासहित १ हजार ७ सय ८२ परीक्षार्थी सहभागी हुने शिक्षा विकास निर्देशनालय धनकुटाले जनाएको छ । परीक्षार्थी सहभागिताको हिसाबले दोस्रोमा झापा जिल्ला रहेको छ । त्यसैगरी उदयपुर ६ हजार १ सय ९३, इलामबाट ४ हजार ३ सय ४३, खोटाङ ३ हजार ३ सय ४३, पाँचथर ३ हजार २ सय २, सङ्खुवासभा २ हजार ६ सय ७६, धनकुटा २ हजार ६ सय ५३, भोजपुर २ हजार ६ सय ३२, ओखलढुङ्गा २ हजार ६ सय ३१, ताप्लेजुङबाट २ हजार १ सय २१ र तेह्रथुमबाट १ हजार ४ सय ३९ गरी जम्मा ८० हजार १ सय परीक्षार्थी सहभागी हुँदैछन् । निमित्त शिक्षा विकास निर्देशक बरालले १४ वटै जिल्लाको शिक्षा समन्वय इकाईमार्फत् ३ सय ७८ वटै परीक्षा केन्द्रमा केन्द्राध्यक्षसहित आवश्यक परीक्षा सामग्री पुगिसकेको बताए ।

झापामा करिब १६ हजार परीक्षार्थी
झापामा यस वर्षको एसईई परीक्षामा १५ हजार ८ सय ५८ परीक्षार्थी सहभागी हुने भएका छन् ।
जिल्लामा ५६ वटा परीक्षाकेन्द तोकिएको छ । भोलि (शुक्रबार) देखि सुरु हुने माध्यमिक शिक्षा परीक्षा (एसईई) को सम्पूर्ण तयारी पूरा भएको शिक्षा विकास तथा समन्वय इकाई झापाले जनाएको छ । शिक्षा विकास तथा समन्वय इकाई झापाका प्रमुख राजकुमार विश्वकर्माका अनुसार जिल्लाभरबाट यसवर्ष परीक्षा दिने परीक्षार्थीलाई तीनवटा धारमा विभाजन गरिएको छ । नियमित, प्राविधिक  र ग्रेडवृद्धि गरी तीन धारमा विभाजन गरिएको उनले जानकारी दिए । जसमा नियमिततर्फ ७ हजार ६ सय ७२ छात्र र ७ हजार ५४ छात्रा गरी १४ हजार ७ सय २६ जना परीक्षामा सहभागी हुने उनले जनाए । यसैगरी प्राविधिकतर्फ २ सय ४६ जना छात्र र ३ सय ५४ छात्रा गरी ५ सय ९९ जना परीक्षार्थी सहभागी हुँदैछन् । ग्रेडवृद्धितर्फ पनि ३ सय १३ छात्र र २ सय २० छात्रा गरी ५ सय ३३ विद्यार्थीले परीक्षा दिँदैछन् । इकाईका प्रमुख विश्वकर्माका अनुसार जिल्लामा यसवर्ष तीनजना दृष्टिविहीन विद्यार्थी परीक्षामा सामेल हुँदैछन् भने संस्कृत विधातर्फबाट ४७ जनाले परीक्षा लेख्दैछन् । जिल्लामा ५६ केन्द्र तोकिएकोमा दमकस्थित हिमालय मावि परीक्षा केन्द्रबाट सबैभन्दा धेरै परीक्षार्थी सामेल हुँदैछन् । सबैभन्दा थोरै भने महेन्द्ररत्न मावि कमल–२ परीक्षा केन्द्रबाट परीक्षार्थी सहभागी हुँदैछन् । उनका अनुसार एक सय २६ सामुदायिक तथा दुई सय ३९ संस्थागत विद्यालयका विद्यार्थी एसईई परीक्षामा सहभागी हुँदैछन् ।

सुनसरीमा १३ हजार ७५ परीक्षार्थी
एसईईमा सुनसरीबाट यसपटक १३ हजार ७५ जना परीक्षार्थी सहभागी हुँदैछन् ।
यसपटक ६ हजार ६ सय ६५ छात्र र ६ हजार ४ सय १० जना छात्रा गरी १३ हजार ७५ जना परीक्षार्थी सहभागी हुन लागेको शिक्षा विकास तथा समन्वय इकाई सुनसरीले जनाएको छ । जिल्लामा यसपटक नियमिततर्फ १२ हजार ९ सय ८५, प्राविधिकतर्फ ३ सय ५७, खुल्लातर्फ ३४ र एकजना खुल्लासहित ग्रेड वृद्धितर्फ जम्मा ९० जना परीक्षार्थी सहभागी हुन लागेको शिक्षा विकास तथा समन्वय इकाई सुनसरीका इकाई अधिकृत निर्मल निरौलाले जानकारी दिए । जसका लागि सुनसरीमा तीनवटा संस्थागत र ४५ वटा सामुदायिक गरी जम्मा ४८ वटा परीक्षा केन्द्र तोकिएका छन् । ४८ वटा परीक्षा केन्द्रहरूमध्ये ४४ वटामा सोही विद्यालयका प्रधानाध्यापक र ४ वटामा वरिष्ठ शिक्षकलाई केन्द्राध्यक्षको जिम्मेवारी दिइएको अधिकृत निरौलाले जानकारी दिए । यसपटकको एसईई परीक्षा भोलि चैत १७ गतेदेखि २९ गतेसम्म सञ्चालन हुँदैछ ।

इटहरीमा बढी परीक्षार्थी
सुनसरीका १२ वटा स्थानीय तहहरूमध्ये यसपटकको एसईई परीक्षामा इटहरी उपमहानगरपालिकाबाट सबैभन्दा बढी परीक्षार्थी सहभागी हुँदै छन् । इटहरीबाट नियमिततर्फ ३ हजार २ सय ९५ र ग्रेड वृद्धितर्फ १४ जना परीक्षार्थी सहभागी हुँदै छन् भने धरान उपमहानगरपालिका क्षेत्रबाट नियमिततर्फ २ हजार ८ सय ८४ र ग्रेड वृद्धितर्फ १४ जना, वराहक्षेत्र नगरपालिकाबाट नियमिततर्फ १ हजार ५ सय ५१ र ग्रेड वृद्धितर्फ २ जना, इनरुवा नगरपालिकाबाट नियमिततर्फ १ हजार १ सय ४ र ग्रेड वृद्धितर्फ २ जना, रामधुनी नगरपालिकाबाट नियमिततर्फ ८ सय ६० र ग्रेड वृद्धितर्फ १६ जना, दुहबी नगरपालिकाबाट नियमिततर्फ ५ सय ८९ जना र ग्रेड वृद्धितर्फ ६ जना परीक्षार्थी सहभगाी हुँदै छन् । हरिनगर गाउँपालिकाबाट नियमिततर्फ ५ सय २७ जना र ग्रेड वृद्धितर्फ ११ जना, बर्जुबाट नियमिततर्फ ४ सय ४८ जना र ग्रेड वृद्धितर्फ ४ जना, देवानगञ्जबाट नियमिततर्फ ४ सय ३२ जना र ग्रेड वृद्धितर्फ ४ जना, कोसीबाट नियमिततर्फ ४ सय २६ जना र ग्रेड वृद्धितर्फ ८ जना, गढीबाट नियमिततर्फ ३ सय ९५ जना र ग्रेड वृद्धितर्फ ५ जना र भोक्राहा नरसिंहबाट नियमिततर्फ २ सय ४० जना र ग्रेड वृद्धितर्फ ६ जना परीक्षार्थी सहभागी हुने भएका छन् ।