उर्लाबारी । कोशी प्रदेश खारेजीको मागसहित सङ्घर्षरत पहिचानवादी समूहबाट मङ्गलबार उर्लाबारी नगरपालिकाका वडाध्यक्ष चिन्तामणि पौडेलमाथि हातपात भएको छ । उक्त समूहले कोशी प्रदेशका सबै स्थानीय तह चैत्र १४ देखि १७ गतेसम्म बन्दको आह्वान गरेको थियो ।

वडा नं. ६ को कार्यालयमा पुगेको उक्त समूहले एक्कासि वडाध्यक्ष पौडेललाई हातपात गरेको वडा स्रोतले जनाएको छ । हातपातपश्चात् अध्यक्ष पौडेल चेकजाँचको लागि मदन भण्डारी अस्पताल तथा ट्रमा सेन्टर मङ्गलबारे पुगेका थिए ।

यसैगरी उक्त समूहले नगरपालिकासहित सबै वडा कार्यालयहरू बन्द गर्दा नागरिक सेवा प्रभावित बनेको छ भने आन्दोलनका क्रममा वडा नं.४ का सव–इन्जिनियर हेमराज कोइरालामाथि पनि हातपात भएको छ ।

यसैबीच नेपाली काङ्ग्रेस नगर समिति उर्लाबारीले प्रेस विज्ञप्ति जारी गरी वडाध्यक्ष तथा पार्टीका जिल्ला सदस्य पौडेलमाथि भएको हातपातको निन्दा गरेको छ । शान्तिपूर्ण आन्दोलन गर्न पाउने अधिकार भए पनि आक्रमण गर्नु निन्दनीय र दण्डनीय भएको उल्लेख गर्दै हातपातमा संलग्नलाई कानूनी कारबाहीको मागसमेत गरिएको छ । पार्टीका कार्यवाहक सभापति राजन रायमाझीले हस्ताक्षर गरेको उक्त विज्ञप्तिमा आन्दोलनका नाममा हुने अराजक गतिविधिविरुद्ध पार्टी प्रतिवादमा उत्रने चेतावनीसमेत दिएको छ ।

उता संयुक्त सङ्घर्ष समिति तथा जनता समाजवादी दल उर्लाबारीका नगरअध्यक्ष मातृका धिमालले कसैप्रति आन्दोलन लक्षित नभएको बताउँदै वडाध्यक्षमाथि भएको हातपातमा दुःख व्यक्त गर्दै शान्तिपूर्ण आन्दोलन गर्ने उद्देश्य रहेको बताएका छन् ।