विजयपुर । प्रसिद्ध आयामेली कवि वैरागी काइँला (तिलविक्रम नेम्वाङ) धरानमा अभिनन्दित भएका छन् । गायक दीप श्रेष्ठ सम्मानित भएका छन् भने कवि सुदीप पाख्रिन पुरस्कृत भएका छन् ।

शनिबार नेपाली प्रतिभा प्रतिष्ठान वेलायतले नेपाली संस्कृतिकर्मीसमेत रहेका वैरागी काइँलालाई अभिनन्दन गरेको हो । नेपाल प्रज्ञा–प्रतिष्ठानका पूर्व कुलपतिसमेत रहेका काइँलाको अभिनन्दन गर्नुपूर्व रथारोहणका साथ नगरपरिक्रमा गरिएको थियो । काइँलाको अभिनन्दनमा मौलिक याक्थुङ समुदायको येवा–फेदाङ्मा–साम्बा, महिला समूहको नौमती बाजा, किरात याक्थुङ चुम्लुङको च्याब्रुङ, किरात राई यायोक्खाको साकेला, तामाङ घेदुङको सेलो र डम्फु, नेवारी समुदायको धिमे बाजागाजासहित सांस्कृतिक झाँकी प्रदर्शन गरिएको थियो ।

कोशी प्रदेश प्रमुख परशुराम खापुङले आँखीझ्यालमा सजिएको ताम्रपत्र, दोसल्ला ओढाएर काइँलालाई अभिनन्दन गरेका थिए । अभिनन्दन कार्यक्रममा प्रतिभा प्रतिष्ठान वेलायतका अध्यक्ष गणेश राईले कविता–काव्य एवम् याक्थुङ मुन्धुमको खोज–अन्वेषण तथा लेखन, सम्पादन, अनुवाद क्षेत्रमा दिएको अतुलनीय योगदानलाई कदर गरी नागरिक अभिनन्दन गरेको बताए ।

प्रतिष्ठानका महासचिव देवेन्द्र खेरेसले वैरागी काइँला नेपाली काव्यसाहित्यमा आयामेली कविका रूपमा प्रसिद्ध भएको बताए । दार्जिलिङमा रहँदा इन्द्रबहादुर राई र ईश्वर वल्लभसँग मिलेर नेपाली साहित्यमा ‘तेस्रो आयाम’ नामक आयामेली आन्दोलनमार्फत् साहित्यजगत्मा नयाँ युगको सुरुवात गरेको उनले बताए । कवि काइँलाका कविता–काव्यमा ‘वैरागी काइँलाका कविताहरू’ र ‘अन्धा मान्छेहरू र हात्ती’ गरी दुई कविताकृति प्रकाशित छन् ।

कवि काइँलाको जन्म वि.सं. १९९६ साउन २५ गते बुधबारका दिन पाँचथर जिल्लाको फाल्गुनन्द गाउँपालिकामा भएको थियो । काइँलाले कविता–काव्यमा विशिष्ट योगदानमा साझा पुरस्कार, गोरखा दक्षिणबाहु, रत्न–शोभा–शुभलक्ष्मी मुन्धुम पुरस्कार, जगदम्बाश्री पुरस्कार, राष्ट्रिय कलाश्री सम्मान, आदिवासी गीति सम्मान, हरिहर शास्त्री–सावित्रीदेवी साहित्य पुरस्कार, युगकवि सिद्धिचरण पुरस्कार, प्रतिभा सम्मान, धरणीधर स्मृति पुरस्कारलगायतका सम्मान र पुरस्कार पाएका छन् ।

अभिनन्दन कार्यक्रममा काइँलाले नेपाली कवितामा पु¥याएको योगदानबारेमा लेखक तथा मालोचक प्रा.डा. गोविन्दराज भट्टराईले भने, ‘नवीनताको आविष्कार गर्ने क्रममा वैरागीले कतिपय लिम्बू शब्दले बोक्ने बिम्ब प्रयोग गरेका छन् । कार्यक्रममा काइँलाले आयामेली कविता र मुन्धुम सङ्कलन, सम्पादन र प्रकाशन गर्ने काम मात्र गरेको बताए । उनले भने, ‘मैले ईश्वर वल्लभ, इन्द्रबहादुर राईसँग मिलेर आयामेली कविता लेखेँ । त्यसपछि येवा, फेदाङ्मा वाचन गरेका मुन्धुम सङ्कलन, सम्पादन र प्रकाशन गरेँ । मैले गरेको त्यति नै मात्र हो ।’

अभिनन्दन कार्यक्रममा वरिष्ठ गायक दीप श्रेष्ठलाई सम्मान गरिएको छ । श्रेष्ठलाई ताम्रपत्रसहित ५० हजार रुपैयाँको प्रतिभा सम्मानद्वारा सम्मान गरिएको छ । यस्तै कवि सुदीप पाख्रिनलाई पुरस्कृत गरिएको छ । कवि सुदीपलाई ताम्रपत्रसहित नगद १ लाख रुपैयाँको प्रतिभा पुरस्कार प्रदान गरिएको हो । गायक श्रेष्ठको बारेमा शिवशङ्कर थापाले बोलेका थिए भने कवि पाख्रिनका बारेमा कवि बम देवानले बोलेका थिए ।