धरान । विराटनगरको बाल कल्याण विद्या मन्दिर (बिकेभिएम) स्कुलले विद्यार्थीलाई सम्मान गरेको छ । 

एमबीबीएस र इन्जिनियरिङको प्रवेश परीक्षामा विराटनगर कलेजमा पूर्ण छात्रवृत्ति प्राप्त गर्ने विद्यार्थीहरूलाई सम्मानित गरिएको हो । बिकेभिएमबाट १६ जना विद्यार्थीले पूर्ण छात्रवृत्ति पाएका छन् । उनीहरूलाई स्कुलले एक कार्यक्रम गरी सम्मानित गरेको हो । एमबीबीएसमा देशभरिबाट १६ हजारभन्दा बढी विद्यार्थीहरू प्रवेश परीक्षामा सहभागी भएकामध्ये बिकेभिएमका परफिन यादव देशभरिमै दोस्रो भएका छन् । 

त्यसक्रममा विराटनगर महानगरपालिकाका नगरप्रमुख नागेश कोइरालाले विद्यार्थीहरूलाई सम्मानित गरेका छन् । स्कुलबाट यादवसहित आदित्य शर्मा, आयाम कट्टेल, रोहन प्रसैला, मनिष गुप्ता, प्रिजल थापा, रूपेन कामत, आयुष गौतम र तोसलविक्रम साहले एमबिबिएसतर्फ पूर्ण छात्रवृत्ति पाएका छन् । त्यस्तै इन्जिनियरिङतर्फ उत्सवराज श्रेष्ठ, अभिनय कर्ण, युनेश पोखरेल, सार्थक पोखरेल, पङ्कजकुमार मेहता र प्राजितकुमार भुजेलले पूर्ण छात्रवृत्ति पाएको स्कुलले जनाएको छ ।