सुनसरी । स्वतन्त्र विद्यार्थी युनियन निर्वाचनमा सुनसरीमा यसपटक नेविसङ्घ र अनेरास्ववियुबीच नै मुख्य प्रतिस्पर्धा हुने देखिएको छ ।

१४ वर्षपछि हुन लागेको स्वतन्त्र विद्यार्थी युनियनको निर्वाचनको सुनसरीमा छ वटा क्याम्पसमा आगामी चैत ५ गते निर्वाचन हुँदै छ । सुनसरी जिल्लामा यसपटक सुनसरी बहुमुखी क्याम्पस इनरुवा, सप्तकोसी बहुमुखी क्याम्पस चक्रघट्टी, जनता बहुमुखी क्याम्पस इटहरी, महेन्द्र बहुमुखी क्याम्पस धरान, पूर्वाञ्चल इन्जिनियरिङ क्याम्पस धरान र केन्द्रीय प्रविधि क्याम्पस हात्तीसार धरानमा चुनाव हुँदै छ ।

जसका लागि सुनसरीका विद्यार्थी सङ्गठनहरूले आफूअनुकूल कतै चुनावी तालमेल गरेका छन् भने कतै मित्रवत् प्रतिस्पर्धी भएर मैदानमा उत्रिएका छन् । नेकपा (एमाले) निकट विद्यार्थी सङ्गठन अनेरास्ववियुले सुनसरी बहुमुखी क्याम्पस इनरुवामा अनेरास्ववियु अखिल क्रान्तिकारी, जनता समाजवादी पार्टी निकट समाजवादी विद्यार्थी युनियनलगायत सङ्गठनसँग चुनावी तालमेल गरी सचिव पद लिएर समाजवादी विद्यार्थी युनियनका देवकुमार यादवलाई सभापतिमा समर्थन गरेको छ भने सुनसरी बहुमुखी क्याम्पस इनरुवामा नन्दन गुप्ताको नेतृत्वमा नेविसङ्घ एक्लै चुनावी प्रतिस्पर्धामा उत्रिएको अवस्था छ ।

सुनसरी सदरमुकामसमेत रहेको यस क्याम्पसमा नेविसङ्घ र समाजवादी विद्यार्थी युनियनबीच मुख्य प्रतिस्पर्धा हुने अनुमान छ । यस्तै इटहरीको जनता बहुमुखी क्याम्पसमा नेकपा (माओवादी केन्द्र) निकट अनेरास्ववियु क्रान्तिकारीले सचिव पदमा अर्जुन पौडेललाई दिएर सभापतिमा अनेरास्ववियुले उज्वल सिग्देललाई उम्मेदवार बनाएको छ भने यहाँ समाजवादी विद्यार्थी युनियनसँग तालमेल गरेर नेविसङ्घ प्रतिस्पर्धामा छ ।

यस क्याम्पसमा नेविसङ्घको तर्फबाट सभापति सहदेव काफ्ले र कोषाध्यक्षमा विपिन भट्टराई तथा सचिवमा समाजवादी विद्यार्थी युनियनका अर्जुन राई उम्मेदवार छन् । यस्तै जनता क्याम्पस इटहरीमा स्वतन्त्र उम्मेदवार बनेका सम्राट थापाको पक्षमा सामाजिक सञ्जालमा समर्थन बढेको देखिन्छ । जनता क्याम्पसमा नेविसङ्घ र अनेरास्ववियुबीच नै मुख्य प्रतिस्पर्धा हुने यहाँका विद्यार्थी बताउँछन् ।

यस्तै सप्तकोसी बहुमुखी क्याम्पस चक्रघट्टीको सभापतिमा अनेरास्ववियुको तर्फबाट चित्रमान राई, सचिवमा सुजन बस्नेत र कोषाध्यक्षमा सञ्जु खड्काले उम्मेदवारी दिएकी छन् भने नेविसङ्घको तर्फबाट सभापति पदमा मार्सल तामाङ र कोषाध्यक्ष पद लिएर प्रत्यक्षतर्फ एउटा एउटा सदस्य पद दिने गरी अखिल क्रान्तिकारी र राष्ट्रिय प्रजातान्त्रिक विद्यार्थी सङ्घसँग चुनावी तालमेल गरेको अवस्था छ । यस क्याम्पसमा पनि नेविसङ्घ र अनेरास्ववियुबीच नै मुख्य प्रतिस्पर्धा हुने देखिन्छ ।

यस्तै महेन्द्र बहुमुखी क्याम्पस धरानको सभापतिमा अनेरास्ववियुको तर्फबाट सुनिल सुब्बा, सचिवमा प्रभात तामाङ र कोषाध्यक्षमा मन्दिरा लिम्बूले उम्मेदवारी दिएकी छन् भने महेन्द्र बहुमुखी क्याम्पस धरानमा नेविसङ्घले सभापति र सचिव पद लिएर कोषाध्यक्षमा अखिल क्रान्तिकारीलाई सहयोग गर्ने भएको छ । जसअनुसार सभापतिमा नेविसङ्घको तर्फबाट विनोद आलेमगर र सचिवमा सनित श्रेष्ठ उम्मेदवार बनेका छन् भने अखिल क्रान्तिकारीले कोषाध्यक्षमा उम्मेदवारी दिएको छ । यस क्याम्पसमा अनेरास्ववियुका उम्मेदवार बलियो देखिएको यहाँका विद्यार्थी नेता बताउँछन् । यस्तै पूर्वाञ्चल इन्जिनियरिङ क्याम्पस धरानको सभापतिमा अनेरास्ववियुको तर्फबाट सभापतिमा अशेष रेग्मी, सचिवमा डिपर्सन ढकाल र कोषाध्यक्षमा सङ्कल्प खड्काले उम्मेदवारी दिएका छन् भने पूर्वाञ्चल इन्जिनियरिङ क्याम्पस धरानमा नेविसङ्घले सभापतिमा नवीन श्रेष्ठलाई उम्मेदवार बनाएको छ भने समाजवादी विद्यार्थी युनियनले सचिवमा उम्मेदवारी दिएको छ । नेविसङ्घ र समाजवादी विद्यार्थीबीच चुनावी तालमेल भएकोले यस क्याम्पसमा उसका उम्मेदवार केही बलियो देखिएको अवस्था छ ।

यस्तै अनेरास्ववियुको तर्फबाट केन्द्रीय प्रविधि क्याम्पस हात्तीसार धरानको सभापतिमा प्रतीक ओझा, सचिवमा नवीन खरेल र कोषाध्यक्षमा नविना मगरातीले उम्मेदवारी दिएकी छन् भने केन्द्रीय प्रविधि क्याम्पस हात्तीसार धरानमा नेविसङ्घ र अखिल क्रान्तिकारीबीच चुनावी तालमेल भएको छ । जसअनुसार सभापतिमा नेविसङ्घले अभिनव गुरागाईं र सचिवमा उम्मेदवारी दिएका छन् भने अखिल क्रान्तिकारीले केन्द्रीय प्रविधि क्याम्पस हात्तीसारमा कोषाध्यक्षमा आफ्नो उम्मेदवार उठाएको छ । यहाँ पनि अनेरास्ववियु र नेविसङ्घबीच नै मुख्य प्रतिस्पर्धा हुने आँकलन गरिएको छ ।

अनेरास्ववियु र नेविसङ्घका विद्यार्थी नेताहरूले लामो समयपछि हुन लागेको स्ववियु निर्वाचनको नतिजा आफ्नो पक्षमा आउने दाबी गरेका छन् । एमालेनिकट अनेरास्ववियु सुनसरीका अध्यक्ष नवराज खड्काले विद्यार्थीको मागअनुसार हरेक क्याम्पसमा उम्मेदवारी दिएको हुनाले आफूहरूको पक्षमा नतिजा आउनेमा आफू आशावादी भएको बताउँछन् । यता नेपाली काङ्ग्रेसनिकट नेविसङ्घ सुनसरीका सभापति प्रमोद भट्टराई भने आफूहरू विद्यार्थीको सुख–दुःखमा साथ दिने साथी भएर काम गर्न चाहेको बताउँदै यसपटक नेविसङ्घको पक्षमा विद्यार्थीको लहर देखिएको दाबी गरे । उनले आवश्यकताअनुसार कतिपय क्याम्पसमा चुनावी तालमेल गरिएको हुनाले नतिजा आफूहरूको पक्षमा आउने बताउँछन् ।