धनकुटा । धनकुटा बहुमुखी क्याम्पसका पूर्व क्याम्पस प्रमुख नारायण जोशीद्वारा लिखित कविता सङ्ग्रह ‘यो कविता यात्रा’ शनिबार एक समारोहका बीच लोकार्पण गरिएको छ ।

कवि जोशीको आफ्नै पनातिनी वर्ष ३ की अभियान्ना जोशीले लोकार्पण गरेकी छन् । कविता लोकार्पण कार्यक्रमकी प्रमुख अतिथिसमेत रहेकी ‘अभियान्ना’ जोशीका चौथो पुस्ताकी हुन् ।

कविता सङ्ग्रहमाथि धनकुटा बहुमुखी क्याम्पसका सहायक क्याम्पस प्रमुख मानबहादुर भण्डारीले टिप्पणी तथा परिचर्चा गरेका थिए ।

जोशीका कवितामाथि चर्चा गर्दै सहायक क्याम्पस प्रमुख भण्डारीले कवितामा राष्ट्रप्रेम, बन्धुत्व, सिर्जना र मातृवात्सल्य जस्ता सबैखाले प्रेमलाई चर्चा गरिएको बताए । उनले कवितामा आत्मीय र भावनात्मक प्रेमको बढी चर्चा गरिएको पनि टिप्पणी गरे ।

साहित्यिक अभियन्ता गीता अधिकारीले सुसुप्त बालमनोविज्ञानको रूपमा चौथो पुस्ताको आफ्नो नातिनीलाई प्रमुख अतिथि बनाएर कविता लोकार्पण गराएको भन्दै कार्यक्रमको प्रशंसा गरिन् । सङ्ग्रहमा त्रिचालीसवटा कविताहरू समावेश छन् ।