विराटनगर । विराटनगरस्थित कोसी अस्पतालको हाडजोर्नी विभागमा कार्यरत नर्स गोमा श्रेष्ठले दैनिक १६ देखि २० जनासम्म बिरामीको हेरचाह गरेपछि मात्र उनको ड्युटी अवधि सकिन्छ ।

कामको बोझ धेरै भएकै कारण उनलाई  दिनको ६ घण्टा दायाँबायाँ गर्नेसम्म फुर्सद हुँदैन । उनले काम गर्ने वार्ड कोसी अस्पतालको अर्थो विभागमा जम्मा ३२ शøया छन् । एउटा सिफ्टमा दुईजना नर्स ड्युटीमा खटिन्छन् ।

‘कोसीको अर्थोपेडिक वार्ड दैनिकजसो बिरामीले भरिभराउ हुने गरेको छ’ श्रेष्ठले भनिन्, ‘एउटा सिफ्टमा दुईजना नर्सले भर्ना भएका सबै बिरामी हेर्नुपर्ने  बाध्यता छ । यसले कसरी राम्रो सेवा दिन सकिएला भनेर चिन्ता लाग्छ ।’

कोसी अस्पतालकोे स्त्री तथा प्रसूति विभागभित्रको समस्या पनि उस्तै छ । यो विभाग ७० शøयाको हो । जसमध्ये शल्यक्रिया गरेपछि राखिने बिरामीको लागि १० बेडको पोष्टप वार्ड छ । पोष्टप वार्डमा कार्यरत एक जना नर्सले १० जनासम्म बिरामी हेर्नुपर्ने बाध्यता रहेको सो वार्डमा कार्यरत नर्स ममता श्रेष्ठले बताइन् । विश्व स्वास्थ्य सङ्गठनको मापदण्डअनुसार एक पोष्टप बराबर एक नर्स हुनुपर्छ । त्यसअनुसार ती पोष्टपमा १० जना नर्सको आवश्यकता पर्छ । तर, अस्पतालले उक्त मापदण्ड पूरा गर्न सकेको छैन । अस्पतालले मापदण्ड पूरा गर्न नसक्नुको कारण आवश्यकताअनुसार नर्सको सङ्ख्या नहुनु हो ।

आइसियुसहित अन्य १४ वटा विभागको अवस्था पनि उस्तै छ । कोसी अस्पतालमा ३ सय ५० शøयाको अस्पताल हो । यहाँ दैनिक १ हजारदेखि १ हजार ५ सयसम्म बिरामी ओपीडीमा आउने गरेको अस्पतालको अभिलेखमा देखिन्छ । जसले गर्दा हस्पिटलको सबै बेड भरिभराउ हुन्छ । जेनेरल वार्डमा एक जना नर्सले ४० जनासम्म बिरामी हेर्नुपर्ने अवस्था रहेको छ । यो अस्पतालमा प्रदेश १, मधेश प्रदेश र भारतसम्मका बिरामीसमेत आउने गरेका छन् । गुणस्तरीय उपकरण र सस्तो शुल्कमा दक्ष जनशक्तिबाट उपचार हुने भएकाले यो अस्पताल नागरिकको पहिलो रोजाइमा पर्छ । तर, नागरिकले अपेक्षित स्वास्थ्य सेवा प्राप्त गर्न भने कठिन बन्दै गएको छ । त्यसको एउटा कारण हो– आवश्यकताअनुसार नर्सहरू नहुनु । अस्पतालले मापदण्ड पूरा गर्न नसक्नुको कारण आवश्यकता अनुसार नर्सको सङ्ख्या नहुनु नै हो ।

‘कोसी अस्पतालमा हामी चिकित्सक त चाहिए जति नै छौं’, कोसी अस्पतालकी स्त्री तथा प्रसूति विभाग प्रमुख डा.अन्जु देव भन्छिन्, ‘तर, चिकित्सक मात्रै भएर स्वास्थ्य सेवा पूर्ण हुँदैन । चिकित्सकसहित नर्सहरूको भूमिका महŒवपूर्ण हुन्छ । हाम्रो अस्पताल नर्स अभावको पिरलोमा छ । यसले हाम्रो सेवा थप गुणस्तरीय हुन चुनौती थपिरहेको छ ।’

अस्पतालका फिजिसियन डा. रोशन खड्का बिरामीको उपचारमा सबैभन्दा ठूलो महत्व नै नर्सको हुने बताउँछन् ।  ‘चिकित्सकले उपचार गरिदिएपछि बिरामीलाई निको पार्न महŒवपूर्ण भूमिका निर्वाह गर्ने नै सिस्टरहरू हुन्’ उनी भन्छन्, ‘तर, कोसीमा नर्सकै ठूलो अभाव छ । एकै जनाले दर्जनौं बिरामी हेर्नुपर्ने बाध्यता देख्दा हामीलाई ज्यादै नरमाइलो लाग्छ । त्योभन्दा बढी हाम्रा बिरामीले पाउने सेवा प्रभावित भएकोमा बढी चिन्ता लाग्छ ।’

अस्पतालका मेसु डा. लक्ष्मीनारायण यादवले अस्पतालमा नर्सको जनशक्ति पर्याप्त मात्रामा नभएका कारण विश्व स्वास्थ्य सङ्गठनको मापदण्ड पालना हुन नसकेको बताए । ‘विश्व स्वास्थ्य सङ्गठनको मापदण्डअनुसार आईसीयूमा एउटा बिरामीलाई एकजना नर्सले हेर्नुपर्ने हुन्छ । नर्सिङ जनशक्ति कम हुँदा त्यो मापदण्डलाई पालना गर्न सकेका छैनौँ ।’

अस्पतालका अनुसार मापदण्ड पूरा गर्ने हो भने अस्पतालले ३ सय ५० जना नर्स नियुक्ति गर्नुुपर्ने हुन्छ । तर, त्यसमा अस्पताल र सरकार दुवै मौनजस्तै देखिन्छन् ।

कोसी अस्पतालकी नर्सिङ प्रमुख मन्जु यादव उत्पादित जनशक्ति खपत गर्न नसक्दा सरकारी अस्पतालहरूमा नर्सको अभाव भएको बताउँछिन् । उत्पादित जनशक्तिको खपतको समस्याका कारण अस्पतालमा बिरामी र नर्सको अनुपात पनि मिलेको छैन ।

उनले भनिन्, ‘सरकारले अस्पतालमा बिरामी र नर्सको अनुपात मिलाउन सकेमा बिरामीले गुणस्तरीय सेवा पाउने थिए । वर्षौंदेखिकोे दरबन्दीअनुसार कोसीमा पर्याप्त मात्रामा नर्सको पदपूर्ति भएको छैन ।’ विश्व स्वास्थ्य सङ्गठनको मापदण्डअनुसार अस्पतालले सेवा दिन नसकेको उनी स्वीकार्छिन् । उनी भन्छिन्, ‘हाम्रो अस्पतालमा ३ सय ५० भन्दा बढी नर्सको आवश्यकता छ । अहिलेको अवस्थामा हामीसँग जति नर्स छन्, त्यतिले नै काम चलाउनुुपर्ने बाध्यता छ । हामीसँग नर्स छैनन्, हामी उपचार गर्न सक्दैनौँ भनेर हामीले भन्न मिल्दैन ।’

कोसीमा १ सय ९९ जना नर्सको दरबन्दी रहेको छ । अस्पतालमा अहिले २ सय ५० देखि ३ सयजना नर्सको आवश्यकता रहेको यादवको भनाइ छ । उनले भनिन्, ‘अस्पतालमा ३ सय जना नर्स भए भने मात्र हामीले गुणस्तरीय सेवा दिन सक्छौँ ।’

नर्सले सेवा सुविधा नथपिँदा सेवा राम्रोसँग दिन नसक्ने अवस्था भएको उनले बताइन् । नर्सलाई दिने भत्तामा पनि राज्यबाट विभेद गरेको उनले गुनासो पोखिन् । ‘ल्यावमा काम गर्ने स्वास्थ्यकर्मीलाई तलबको २५ प्रतिशत भत्ता दिने गरिन्छ’ उनले भनिन्, ‘यहाँ कार्यरत नर्सले तलबबाहेक केही पाउँदैनन् । यहाँ यसरी विभेद गरिएको छ ।’