विराटनगर । न्यून गुणस्तरको वस्तु उत्पादन गर्दै बजार पठाएर उपभोक्ताको स्वास्थ्यमाथि खेलवाड गर्ने आधा दर्जन उद्योगविरुद्ध मुद्दा दायर भएको छ ।
खाद्यप्रविधि तथा गुण नियन्त्रण कार्यालय विराटनगरले न्यून गुणस्तरको वस्तु उत्पादन गर्दै बजार पठाउने ६ वटा उद्योगविरुद्ध अदालतमा मुद्दा दायर गरेको हो । न्यून गुणस्तरको खाद्यवस्तु उत्पादन गरी उपाभोक्ताको स्वास्थ्यमाथि खेलवाड गर्ने उद्योगहरू मोरङका रहेका छन् ।
खाद्यप्रविधि तथा गुण नियन्त्रण कार्यालय विराटनगरको प्रयोगशालामा उद्योगहरूबाट उत्पादन भएको खाद्यवस्तुको नमुना सङ्कलन गरेर ल्याव परीक्षण गर्दा न्यून गुणस्तरको पुष्टि भएपछि मुद्दा दायर गरेको कार्यालय प्रमुख राजकुमार रिजालले जानकारी दिए । खाद्यले विराटनगर–१९ मा रहेको शिखर अर्गनाइजेशन लि. बाट उत्पादन हुने मकै न्यून गुणस्तरको पुष्टि भएपछि ५० हजार रुपैयाँ जरिबाना वा पाँच वर्षसम्म कैद वा दुवै सजायको माग दाबी गर्दै मोरङ अदालतमा साउन ३० गते मुद्दा दायर गरेको उनले बताए ।
यस्तै चौपायाको आहार उत्पादन गर्ने मोरङको बूढीगङ्गा गाउँपालिका–२ टङ्कीस्थित नेपाल बलहोप एग्री टेक प्रा.लि.ले दूषित दाना उत्पादन गरी बिक्री वितरण गरेको पाइएपछि ५० हजार रुपैयाँसम्म जरिबाना वा १ महिनादेखि १ वर्षसम्म कैद सजायको माग दाबी लिएर जिल्ला प्रशासन कार्यालय मोरङमा साउन ३० गाते मुद्दा दायर गरेको छ ।
यस्तै प्रशोधित पिउने पानी पनि लेवल नभएको भेटिएपछि विराटनगर–१३ स्थित रूपसान प्रशोधित खानेपानी उद्योगविरुद्ध ५० हजार जरिबाना वा पाँच वर्षसम्म वा दुवै सजायको माग दाबी राखेर मोरङ अदालातमा मुद्दा दायर गरेको छ ।
यस्तै टोमेटो केटचप उत्पादन गर्ने बूढीगङ्गाको दुगड स्पाइसेस एण्ड फुड प्रोडक्ट्स प्रालिले न्यून गुणस्तरको खाद्यवस्तु उत्पादन गरी बजारमा बिक्रीको लागि पठाउने गरेको पाइएपछि ५० हजार रुपैयाँसम्म जरिबाना वा पाँच वर्षसम्मको कैद सजायको माग दाबी लिएर मोरङ अदालतमा कात्तिक ३ गते मुद्दा दायर गरिएको खाद्य कार्यालयले जनाएको छ ।
खाद्य प्रविधिले दायर गरेकोे मुद्दा विचाराधीन रहेको छ भन्दै फैसला हुन बाँकी रहेको कार्यालयले जनाएको छ । चालु आर्थिक वर्षमा पनि एक दर्जन उद्योगले उत्पादन गरेको खाद्यवस्तु कम गुणस्तरको भेटिएपछि अनुसन्धान सुरु गरिएको कार्यालय प्रमुख रिजालले बताए ।
कार्यालय प्रमुख रिजालले आर्थिक वर्ष २०७९/०८० को दोस्रो त्रैमासिक प्रगति विवरण सोमबार सार्वजनिक गर्दै हालसम्म १ सय ४७ वटा उद्योगहरू अनुगमन गरेको जानकारी गराए । खाद्य दाना उद्योगको अनुज्ञापत्र जारी नवीकरण तथा उद्योग सिफारिस ४ सय ६ वटा गरिएको छ ।
 
                     
         
                                        
                                                                                                 
        































