मानव स्वास्थ्य सबैभन्दा संवेदनशील विषय मानिन्छ । किनभने यो क्षेत्रमा सानो गल्तीले पनि कसैको ज्यान जोखिममा पर्न सक्छ, कसैको ज्यानै जान सक्छ । पछिल्लो समय चिकित्सक र स्वास्थ्यकर्मीको लापरबाहीका घटना सार्वजनिक भइरहेका छन् । बुधबार मात्र विराटनगरस्थित कोसी अस्पतालमा यस्तै घटना भयो । घटना विवरणअनुसार मोरङको जदहा गाउँपालिका–३ की उमा मुखियाले १८ दिनको नवजात शिशु बिरामी भएपछि उपचारका लागि कोसी अस्पताल पु¥याएकी थिइन् । अस्पतालका डाक्टर आकाश यादव, अहेवहरू लक्ष्मण चौधरी र टीका भण्डारीले राम्रोसँग हेर्दै नहेरी बच्चालाई मृत घोषणा गरिदिए । त्यसपछि मुखिया परिवारमा रुवाबासी भयो । अस्पतालबाट मृत घोषणा गरिएको शिशुको दाहसंस्कार गर्ने तयारीमा परिवार जुटिरहँदा शिशुले खुट्टा चलायो । जीवित शिशुलाई अस्पतालका डाक्टर र अहेवको लापरबाहीले मृत घोषणा गरिएपछि डाक्टरमाथि कुटपिटसमेत भयो । अहिले उनीहरूमाथि छानबिन सुरु भएको छ । अस्पतालमा उपचारका विषयलाई लिएर बिरामीका आफन्त र डाक्टर, कर्मचारी, नर्सहरूसँग झगडा हुने गरेका घटना बारम्बार सार्वजनिक भइरहन्छन् । कतिजनामाथि त कुटपिटसमेत हुने गरेका छन् । यस्ता घटना बढ्दै जानु चिन्ताको विषय हो । यसले स्वास्थ्यकर्मी र बिरामी तथा आम नागरिकबीच अविश्वासको वातावरण सिर्जना गरिरहेको छ, दूरी बढाइरहेको छ । यसको निराकरण कसरी गर्ने ? सरोकारवाला पक्षले गम्भीरतापूर्वक लिनु आवश्यक छ । एक तथ्याङ्क अनुसार चार वर्षयता उपचारमा लापरबाही भएको भन्दै एक सय पचासभन्दा बढी उजुरी परेका छन् तर, हालसम्म लापरबाही गर्ने कसैलाई पनि कारबाही भएको छैन ।

यस्तो दण्डहीनताको अवस्थाले लापरबाहीका घटना बढाउन मद्धत गर्छन् । स्वास्थ्यकर्मीहरूको लापरबाहीको नियमन गर्ने निकाय नेपाल मेडिकल काउन्सिल छ । स्वास्थ्य क्षेत्रलाई विश्वसनीय बनाउन काउन्सिलको ठूलो भूमिका रहन्छ तर, राजनीतिक प्रभावले काउन्सिललाई चुस्त दुरुस्त बनाउन सकेको छैन । आम नागरिकले दिएका उजुरीमाथि गम्भीररूपमा अनुसन्धान गरेर गल्ती भेटिए कारबाही गर्नुपर्नेमा त्यस्तो हुन सकेको छैन । काउन्सिलले यस्ता घटनालाई गम्भीरतापूर्वक लिन आवश्यक छ । कतिपय अवस्थामा भने स्वास्थ्यकर्मीको गल्ती नहुँदा पनि बिरामीका आफन्तले कुटपिट गर्ने, धम्क्याउने गरेको पनि पाइन्छ । कुनै पनि बिरामीलाई उपचारपछि निको हुने विश्वासका साथ अस्पताल लगिन्छ । कति बिरामी स्वास्थ्यकर्मीले राम्रैसँग उपचार गर्दागर्दै पनि ठीक नहुन सक्छन् वा मृत्यु हुन पनि सक्छ । यस्तो अवस्थामा बिरामी वा मृतकका आफन्त आक्रोसित हुनु स्वभाविक हो । कुनै बिरामीको मृत्यु हुनु स्वास्थ्यकर्मीका लागि सयौंमा एक हुन सक्छ तर, आफन्तका लागि शतप्रतिशत हुन्छ । यस्तो अवस्थामा मृतकका आफन्तलाई उचित परामर्श दिनु आवश्यक हुन्छ तर, हाम्रा अस्पतालहरूमा यस्तो व्यवस्था पाइँंदैन । स्वास्थ्यकर्मीले राम्रोसँग नबुझाउँदा वा झर्को मान्दा बिरामीका आफन्तहरू आक्रोसित हुने र झगडा गर्ने गरेका घटना धेरै पाइन्छ । यही क्रममा आवेशमा हातपात हुने गरेको छ । कसैलाई पनि गल्ती भएमा कानूनी उपचारको बाटो हुँदाहुँदै हातपात गर्नु सही होइन । चिकित्सक वा कुनै स्वास्थ्यकर्मीले लापरबाही गरे कानूनी प्रक्रियामा जानु उचित हुन्छ ।

स्वास्थ्यकर्मीहरूले लापरबाही गरेका घटना हाम्रो शैक्षिक प्रणालीसँग पनि जोडिन्छ । स्वास्थ्यजस्तो संवेदनशील क्षेत्रमा पैसाको बलमा होइन, क्षमताको भरमा अध्ययन गर्नुपर्ने हो तर, पैसा खर्च गर्न सक्नेले मात्र चिकित्सा शिक्षा पढ्न सक्ने अवस्था छ । स्वास्थ्य क्षेत्र अति व्यापारीकरण भइसकेको छ । यसलाई जरैदेखि नै सुधार गर्न नसके स्वास्थ्यकर्मीबाट हुने लापरबाहीका घटना पनि कम हुँदैनन्, स्वास्थ्कर्मीमाथि हुने कुटपिट र धम्कीका घटना पनि कम हुँदैनन् । त्यसका लागि त राज्यले स्वास्थ्य शिक्षादेखि अस्पतालहरूमा बिरामी र उनीहरूका आफन्तलाई गरिने व्यवहारमा सुधार ल्याउनु जरुरी छ ।