विराटनगर । विराटनगरस्थित कोसी अस्पतालको आकस्मिक कक्षका चिकित्सकले १८ दिनकी शिशुलाई मृत घोषणा गरेको भएपनि उनी जीवितै रहेको घटनाको अनुसन्धानका छानविन समिति गठन गरेको छ । अस्पताल प्रशासनले बिहीबार बालरोग विशेषज्ञ डा. प्रविण झाको संयोजकत्वमा तीन सदस्यीय छानबिन समिति गठन गरी छानविन सुरू गरिएको हो ।

समितिमा अर्का बालरोग विशेषज्ञ डा. सूर्यकान्त चौधरी र अस्पताल प्रशासनका अधिकृत रामप्रसाद नेपाल सदस्य छन् ।

समितिलाई एक साता भित्र प्रतिवेदन बुझाउन म्याद दिइएको समितिका संदस्य तथा अस्पतालका सूचना अधिकारी समेत रहेका रामप्रसाद नेपालले बताए । छानविन समितिले दिएको प्रतिवेदनको आधरमा थप कामकारवाही अगाडी बढाउने कोशी अस्पतालका मेसु डा. लक्ष्मीनारायण यादवले बताए । ‘छानविन समिति गठन भएको छ  ।  सातदिन भित्र प्रतिवेदन अस्पतालाई बुझाउनेछन् । प्रतिवदेनको आधारमा कारवाहीको प्रक्रिया अगाडी बढनेछ,’ मेसु यादवले भने ।

यसैबीच जीवित शिशुलाई मृत घोषणा गर्ने आकस्मिक कक्षका मेडिकल अफिसर डा. आकाश यादवसहित अहेवद्वय टीका भण्डारी र लक्ष्मण माझीलाई बिहीबारदेखि काममा रोक लगाएको छ । उनीहरूलाई अस्पताल प्रशासनले २४ घण्टा भित्रमा स्पष्टिकरण बुझाउन निर्देशन दिँदै छानबिन समितिले प्रतिवेदन नबुझाएसम्म काममा रोक लगाएको सूचना अधिकारी नेपालले बताए ।

कोसी अस्पतालको आकस्मिक कक्षका चिकित्सक यादवसहितको टोलीले जीवित शिशुलाई मृत घोषण गरेपछि बुधबार अस्पताल परिसरमा तनाव भएको थियो । मृत घोषणा गरिएकी ती नवजात शिशुको स्थानीय गोल्डेन अस्पतालको एनआईसीयूमा उपचार भइरहेका छ ।

स्वासप्रश्वासमा समस्या देखिएपछि मोरङको जहदा गाउँपालिका–३, भाथिगछकी १८ दिनकी ती शिशुलाई उपचारका लागि बुधबार बिहान कोसी अस्पतालको आकस्मिक कक्षमा पुर्याइएका थिए । अस्पतलमा त्यहाँ कार्यरत मेडिकल अफिसर आकाश यादवसहित अहेद्वय टीका भण्डारी र लक्ष्मण माझीले शिशुको स्वास रोकिएको र मुटुको धडकन नचलेको भन्दै मृत घोषणा गरेका थिए ।

चिकित्सकसहितका स्वास्थ्यकर्मीहरुले जाँचपछि मृत घोषणा गरेएकी ती शिशुले केही समय पछि हात खुट्टा चलाएर रुन थालेपछि अस्पताल पुगेका परिवारका सदस्य तथा भिडले चिकित्सक यादवलाई हातपात गरेर घाइते बनाएका थिए । साथै अस्पताल केही समय तनावग्रस्त बन्न पुगेको थियो ।