धरान । कम्प्युटर एसोसिएसन अफ नेपाल (क्यान) महासङ्घ उदयपुर जिल्ला शाखाको अध्यक्षमा पुनः राजन आचार्य चयन भएका छन् ।
क्यान उदयपुरको आइतबार सम्पन्न तेस्रो वार्षिक साधारणसभा तथा दोस्रो जिल्ला अधिवेशनले सर्वसम्मतरूपमा आचार्यलाई नै पुनः अध्यक्ष चयन गरेको हो । यसअघि पनि उनी नै अध्यक्ष थिए । यो उनको दोस्रो कार्यकाल हो ।
त्यसैगरी उपाध्यक्षमा मधुसुदन श्रेष्ठ, सचिवमा पेशलकुमार राई, सह–सचिवमा गोविन्द खत्री र कोषाध्यक्षमा लक्ष्मीनारायण चौधरी चयन भएका छन् भने सदस्यहरूमा वसन्त भट्टराई, ज्योति राई तथा मनोनित सदस्यहरूमा डम्बरकुमारी मगर र सन्तकुमार सुनुवार चयन भएको अध्यक्ष आचार्यले जानकारी दिए ।
त्रियुगा नगरपालिकाका प्रमुख वसन्तकुमार बस्नेतको प्रमुख आतिथ्यमा भएको कार्यक्रममा क्यान महासङ्घका केन्द्रीय सचिव ठाकुरकुमार श्रेष्ठ, क्यान महासङ्घ केन्द्रीय सदस्य भूपेन्द्र मैनालीलगायत विशेष अतिथि र जिल्ला उद्योग वाणिज्य सङ्घ उदयपुरका अध्यक्ष चूडामणि कार्की, त्रियुगा उद्योग वाणिज्य सङ्घका अध्यक्ष रमेश रसाइली, सङ्गम सामुदायिक पुस्तकालयका अध्यक्ष भरत खड्का, त्रियुगा जनता बहुमुखी क्याम्पसका आईटी शिक्षक भगवान बस्नेत, क्यान महासङ्घ प्रदेश १ का अध्यक्ष भवकृष्ण तिम्सिना, क्यान महासङ्घ प्रदेश १ का सचिव रोशन दाहाललगायत अतिथिको उपस्थिति रहेको थियो ।
क्यान उदयपुरको साधारणसभाले समाजमा घटिरहेका साइबर अपराधसम्बन्धी सचेतनामूलक कार्यक्रम सञ्चालन गर्ने, पसल–पसलमा चल्ने क्युआर कोडका विषयमा सचेतना फैलाउने तथा नगरपालिकासँग समन्वय गरेर विद्यालयमा डिजिटल साक्षरता अभियान चलाउने लक्ष्य लिएको अध्यक्ष आचार्यले बताए ।