बेलबारी । मोरङको लेटाङ नगरपालिका आगामी शैक्षिक वर्ष २०८० देखि लागू हुने गरी स्थानीय पाठ्यक्रमको सन्दर्भ सामग्री निर्माणका साथै लिम्बू भाषाको पाठ्यक्रम (कक्षा १–३) को तयारीमा जुटेको छ ।

लेटाङमा गतवर्ष तयार गरिएको हाम्रो लेटाङ नामक स्थानीय पाठ्यक्रम यसै शैक्षिक सत्रदेखि कक्षा १ देखि ८ सम्म नगर भित्रका विद्यालयहरूमा लागू भइसकेको छ । पाठ्यक्रम सामुदायिकतर्फका ३१ र संस्थागततर्फका १६ विद्यालयमा लागू भएको हो ।

आर्थिक वर्ष २०७९/८० को वार्षिक नीति तथा कार्यक्रम अन्तर्गत उक्त स्थानीय पाठ्यक्रमको सन्दर्भ सामग्री निर्माणका साथै लिम्बू भाषाको पाठ्यक्रम कक्षा १ देखि ३ सम्म तयार गरी आगामी शैक्षिक वर्ष २०८० बाट छनोट गरिएका विद्यालयमा परीक्षणको रूपमा लागू गर्ने कार्यक्रम रहेको लेटाङ नगरपालिका शिक्षा शाखाका प्राविधिक सहायक अनिलकुमार मिश्रले बताए ।

शुक्रबार लेटाङ नगरपालिकामा भएको पाठ्यक्रम निर्माणसम्बन्धी कार्यक्रममा नगरप्रमुख भूपेन्द्रकुमार लावती, उपप्रमुख कृष्णकुमारी निरौला, प्रमुख प्रशासकीय अधिकृत पुरुषोत्तम घिमिरे, पाठ्यक्रम निर्माण समिति संयोजक शिक्षा, युवा तथा खेलकुद शाखा प्रमुख कृष्णराज राई, शिक्षा अधिकृत सञ्जिता खनाल, प्राविधिक सहायक अनिलकुमार मिश्रका साथै लेटाङ क्याम्पस प्रमुख वीरेन्द्रकुमार लिम्बू र किरात धर्म तथा साहित्य उत्थान सङ्घ जिल्ला समिति मोरङका अध्यक्ष रामभक्त कुरुम्वाङको कार्यक्रममा  सहभागिता रहेको थियो ।

भाषिक क्षेत्रहरू सुनाइ, बोलाइ, पढाइ, लेखाइ, कार्यमूलक व्याकरण र शब्दार्थलाई पाठ्यक्रममा समावेश गरेर तयार पारिएको यो पाठ्यक्रम किरात श्रीजङ्घा लिपिमा नै तयार गरी कार्यान्वयनमा लैजाने कार्यक्रम रहेको शिक्षा शाखा प्रमुख कृष्णराज राई बताउँछन् ।लिम्बू जातिले परम्परादेखि बोल्दै आएको भाषा र प्रयोग गर्ने लिपिको समेत स्थानीय पाठ्यक्रमका रूपमा शैक्षिक सत्र २०८० देखि कार्यान्वयनमा ल्याउन लिम्बू भाषा, किरात सिरिजङ्घा लिपि र भाषाका सुनाइ, बोलाइ, लेखाइ, पढाइ र शब्दभण्डार विकास गर्न सिरिजङ्घा लिपिमा नै तयार गरी कार्यान्वयनमा लैजाने कार्यक्रम रहेको नगर प्रमुख भूपेन्द्रकुमार लावतीले बताए ।

बालबालिकाहरूलाई सानै कक्षादेखि आफ्नो मातृभाषाको सक्षमतामा अब्बल बनाउन भाषासँग सम्बन्धित लिम्बू  संस्कृति र परिवर्तित परिवेशहरूको ज्ञान, धारणा र सीपको विकास गर्दै समग्र विषयको सिकाइ उपलब्धि सुधार गर्ने पाठ्यक्रमको उद्देश्य रहने र लिम्बू भाषालाई स्थानीय कामकाजको भाषाको रूपमा समेत विकास गर्ने गरी यस पाठ्यक्रमलाई कक्षा ८ सम्म विस्तार गर्ने र अन्य मातृभाषाको पठन–पाठन सम्भाव्यताका आधारमा अगाडि बढाउने नगरपालिकाको सोच रहेको प्रमुख लावतीले बताए ।