मोरङ (जहदा) । प्रदेश १ को राजधानी विराटनगरको १७ नम्बर वडा कार्यालयदेखि करिब ७ किलोमिटर पूर्व मोरङको जहदा गाउँपालिका–२ मा ऋषिदेव समुदायको बस्ती छ । जहाँ पश्चिममा सिङ्घीया खोला र पूर्वमा जुडी खोला पर्छ । यी दुई खोलाको बीचमा रहेको बस्ती बर्सेनि डुबानमा पर्ने गरेको छ । बस्ती नजिक सुनसरी–मोरङ सिंचाइ आयोजनाको नहर पर्छ ।

सुुकुम्बासी बस्ती नजिक तीन वटा ठूला पोखरी छन् । यी पोखरीले सुकुम्बासी बस्तीका दुई जनाको ज्यान लिइसकेका छन् । देवन्तीदेवी ऋषिदेवको ५५ वर्षीय पति दिलचन्द ऋषिदेव र १६ वर्षीया छोरी रविना ऋषिदेवको घरनिजक बर्खामा आउने बाढीले बनाएको ठूलो पोखरीमा डुबेर ज्यान गएको हो । ‘गत साउनमा श्रीमान्को यही पोखरीमा डुबेर ज्यान गयो’ पत्नी देवन्तीले पति डुबेको पोखरी देखाउँदै भनिन्, ‘यो पोखरीले श्रीमान्को ज्यान लिएको एक वर्षअगाडि छोरीको पनि ज्यान लियो ।’

कुरा दुई वर्षअगाडिको हो । ‘साउन महिनामा अविरल वर्षासँगै सिङ्घीया र जुडी खोलामा आएको बाढी ऋषिदेव बस्तीमा पसेको थियो । बस्तीमा बाढी पस्दा ४० घर डुबानमा प¥यो । स्थानीय र प्रहरी प्रशासनले उद्धार ग¥यो र उनीहरूलाई सुरक्षित स्थानमा सार्यो । ‘छोरीलाई शौच लागेपछि नहरछेउमा गएकी थिइन् । बाटो चिप्लो थियो ।

चिप्लो बाटोमा लडेर छोरी पोखरीमा जमेको पानीमा पुगिन् । छोरी डुबेको देखेपछि हारगुहार गरेँ । स्थानीय भेला भएपछि पौडी खेल्न जान्ने युवाहरूले पोखरीमा पसेर छोरीलाई त निकाले तर, बाहिर निकाल्दा छोरीको सास थिएन’ भावविह्वल हुँदै छोरी गुमाउँदाको पीडा सुनाउँदै उनले भनिन्, ‘छोरी गुमाएको पीडा भुल्न नपाउँदै अर्को ठूलो बज्रपात आइप¥यो । जीवनभरि साथ दिन्छु भनेको श्रीमान्लाई पनि छोरीको ज्यान लिने पोखरीले लिएर गयो । मेरो जीवनमा कहिले बिर्सन नसक्ने यी दुई घटना एक वर्षको अन्तरमा घटेका छन् ।’

यही कारण यहाँका ४५ घर सुकुम्बासीहरूले ज्यान लिने तीन वटै पोखरी पुरिदिन माग राखेका छन् । स्थानीय सरकारदेखि प्रदेश र सङ्घका उम्मेदवार घरदैलोमा भोट माग्न आउने क्रममा उनीहरूले ज्यान लिने पोखरी देखाउँदै पुर्न माग राख्ने गरेका छन् ।

धनीपुर्जा दिनेलाई भोट
मोरङको जहदा गाउँपालिका–२ हरिनग्राहनजिक रहेको सुकुम्बासी बस्तीका ५५ वर्षीय राजेन्द्र ऋषिदेव धान बिक्री गर्ने तयारीमा छन् । आइतबार दिउँसो सुकुम्बासी बस्ती पुग्दा राजेन्द्र साइकलमा धानको बोरा राखेर विराटनगर बजार जाने तयारीमा थिए । अरूकहाँ बनिबुतो गरेर दैनिक गुजारा चलाउने उनलाई चुनाव नजिकिएको थाहा नभएको हैन । तैपनि उनी यस पटक कुनै राजनीतिक दलको कार्यक्रममा सहभागी भएका छैनन् । तीन दशकदेखि निर्वाचनमा मतदान गर्दै आएका ऋषिदेवले नेता र उम्मेदवारले दिएका आश्वासन पूरा नगरेको बताए । त्यसैले यसपटकको चुनावमा उनलाई खासै चासो लागेको छैन ।

२०३५ सालदेखि बसोबास गरेको जग्गाको लालपुर्जा दिने नेता र जनप्रतिनिधिको ४० वर्षदेखिको आश्वासन कहिले पूरा हुने हो, उनलाई थाहा छैन । जग्गाको पुर्जा भएमा सानोतिनो भए पनि व्यवसाय गर्ने सोचमा रहेका उनीसँग आर्थिक स्रोत छैन । ज्यालादारी नै जीविकोपार्जनको भरपर्दो स्रोत हो । चार जनाको परिवार पाल्दै आएका उनी भन्छन्, ‘४० वर्षदेखि पुर्जा दिन्छु भनेर भोट मागेका छन् । चुनाव जितेपछि अनेकौं बहाना बनाउँछन् । अहिले फेरि लालपुर्जा दिन्छौँ भन्दै भोट माग्न आएका छन्, अब कसैको कुरामा विश्वास लागेको छैन । जसले पुर्जा दिने लिखित कागज गर्छ, उसैलाई भोट दिनेछौँ ।’

ऋषिदेव बस्तीका अगुवासमेत रहेका राजेन्द्रले भने, ‘ऋषिदेव सबैले सोही व्यक्तिलाई भोट हाल्ने हो । अब पार्टी होइन व्यक्ति हेरेर भोट दिने हो ।’ ३८ वर्षीय पृथु ऋषिदेवले विदेश जाने सोच बनाए । तर, लालपुर्जा नहुँदा बैङ्क र सहकारीले ऋण नदिएपछि गाउँघरमै मजदुरी गरेर दिनचर्या काटिरहेका छन् । ‘आफ्नो जग्गाको प्रमाण नहुँदा बेरोजगार भएर बस्नुपरेको छ । बुबाको पालामा नै पाउनुपर्ने पुर्जा अहिले पनि पाएका छैनौं’ उनले भने, ‘आश्वासन दिएर हामी गरिबको भोट लिने र त्यसपछि एक्कासि चुनावमा मात्र फर्किएर आउने प्रचलन बन्द हुनुपर्छ । गाउँमा एक दिन आएर भोज गरेर भोट दिने प्रचलन अब हामीबाटै बन्द गर्नुपर्छ ।’

अधुरो पुल पूरा गर्न माग
विराटनगर र जहदा गाउँपालिका जोड्ने पुल हो, जुडीको खोलाको पुल । निर्माण सुरु भएको पाँच वर्ष पूरा भइसक्दा पनि पुलको निर्माण कार्य सम्पन्न भएको छैन । अहिले पनि २० प्रतिशतभन्दा बढी काम पूरा हुन बाँकी रहेको यहाँका स्थानीय बताउँछन् ।

आइतबार दिउँसो मोरङ क्षेत्र नं. ४ (२) का प्रदेशसभा सदस्यका उम्मेदवार काङ्ग्रेसका केन्द्रीय सदस्य अमृत अर्याल भोट माग्न जहदा–२ हरिनग्राहमा पुगेका थिए । यहाँका मतदाताहरूले उनलाई अधुरो पुलको निर्माण कार्य पूरा गर्नदेखि सिंचाइ सुविधा, सडक कालोपत्रे गर्नेसम्मको माग राखे ।

जहदा–२ हरिनग्राहका नागेश्वर गुरुङले बर्खामा आवत–जावत हुने जुडी खोलाको पुल निर्माण पूरा गर्नेलाई भोट दिने बताए । ‘यही पुल भएर विराटनगर–जहदा ओहोर–दोहोर गर्नुपर्ने हुन्छ’ उनले भने, ‘बर्खायाममा पुल नहुँदा जहदा गाउँपालिका जान सकिँदैन । त्यही भएर यहाँ पुलको जरुरी रहेको छ । त्यसैले यहाँ पुल बनाइदिनेलाई हामी भोट दिनेछौं ।’

sukumbasi