विराटनगर । प्रदेश १ मा तिहारमा सवारी दुर्घटनामा परी १७ जनाको मृत्यु भएको छ ।

१४ जिल्ला रहेको प्रदेशमा ९९ वटा सवारी दुर्घटनामा परी १७ जनाको मृत्यु भएको १ नं. प्रदेश ट्राफिक प्रहरी कार्यालय इटहरीका प्रवक्ता डिएसपी श्याम सारुमगरले जानकारी दिए । १७ जना गम्भीर घाइते र १ सय ६३ जना सामान्य घाइते भएको ट्राफिक प्रहरीले जनाएको छ ।

कात्तिक ६ देखि ११ गतेसम्म पाँच दिनमा सबैभन्दा बढी भाइटीकाको दिन सवारी दुर्घटना भएको छ । भाइटीकाको दिन २३ वटा सवारी दुर्घटनामा परी तीन जनाको मृत्यु भएको छ । तिहार सुरु भएको पहिलो दिन काग तिहार कात्तिक ६ गते १८ वटा दुर्घटना भएको छ । उक्त दुर्घटनामा परी ३ जनाको मृत्यु भएको छ भने २१ जना घाइते भएका छन् ।

यस्तै कात्तिक ७ गते १५ वटा दुर्घटनामा एक जनाको मृत्यु भएको ट्राफिक प्रहरीले जनाएको छ । कात्तिक ८ गते १३ वटा दुर्घटना हुँदा २ जनाको, कात्तिक ९ गते १३ वटा दुर्घटनामा २ जनाको र कात्तिक ११ गते १७ वटा दुर्घटनामा परी ६ जनाको मृत्यु भएको प्रहरीले जनाएको छ ।

शुक्रबार सुनसरीको इटहरी–१० मा सवारी दुर्घटनामा परी तीन जनाको मृत्यु भएको छ । दुईवटा मोटरसाइकल आपसमा ठोक्किँदा तीन जनाको मृत्यु भएको हो ।

तिहारमा सबैभन्दा बढी दुई पाङ्ग्रे सवारी साधन दुर्घटना भएको डिएसपी मगरले बताए । ‘दुर्घटनाको कारण तीव्र गति र मादक पदार्थ सेवन गरेर चलाउँदा सवारी दुर्घटना भएको देखिएको छ’–डिएसपी मगरले भने ।