दशैंको रमझम सकिने बित्तिकै देशमा चुनावी रौनक सुरु भएको छ । आइतबार देशभर प्रतिनिधिसभा र प्रदेशसभा सदस्यका लागि मनोनयन दर्ता गरिएको छ । मनोनयन दर्तासँगै चुनावी माहोल तात्तिन थालेको छ । मनोनयनका क्रममा यसपटक फरक खालका दृश्यहरू देखिएका छन् । अघिल्ला चुनावमा राजनीतिक दलका उम्मेदवारहरूको चर्चा बढी हुने गरेकोमा यसपटक स्वतन्त्र उम्मेदवारहरूको चर्चा बढेको छ । ठूला राजनीतिक दलहरूका नेता, कार्यकर्तासमेत यसपालि स्वतन्त्र उम्मेदवार बनेर मनोनयन दर्ता गराएका छन् । मनोनयनको माहोल हेर्दा यसपटकको प्रतिनिधिसभा तथा प्रदेशसभा निर्वाचन रोचक बन्ने आँकलन गर्न सकिन्छ ।
खासगरी राजनीतिक दलहरूले गठबन्धनका नाममा प्रमुख नेताहरू सुरक्षित हुने खेल गरेपछि धेरै कार्यकर्ता असन्तुष्ट बनेका छन् । त्यसमाथि दलका नेताहरूले आम कार्यकर्ताको भावना विपरीत आफू अनुकूल उम्मेदवार खडा गरेका कारण पनि धेरै कार्यकर्तामा असन्तुष्टि देखिएको छ । त्यसैको परिणाम स्वरूप दलका निर्णय विरुद्ध बागी उम्मेदवारी दिनेहरूको सङ्ख्या बढेको छ । यसरी उम्मेदवारी दिनेहरूमा यसपटक प्रभावशाली नेताहरूसमेत देखिएका छन् । अघिल्ला निर्वाचनमा पार्टीको केन्द्रीय तहबाट भएका निर्णयलाई पालना गर्दै आएका नेता, कार्यकर्ताहरूले समेत यसपटक ‘माथिको निर्णय’ लाई चुनौती दिइरहेका छन् । देश सङ्घीयतामा भएको लामो समय भइसक्दा पनि राजनीतिक दलहरू भने अझै केन्द्रीकृत मानसिकतामा रहेको यसपटकको टिकट बाँडफाँडबाट पनि देखियो । एउटा मात्र होइन, सबैजसो राजनीतिक दलहरूमा चुनावको टिकट वितरणमा केन्द्रीय अध्यक्ष वा सभापति हावी हुने, तल्लो तहका नेता, कार्यकर्ताका कुराको सुनुवाइ नहुने, भए पनि आफ्नो गुटको मात्र हुने प्रवृत्ति पहिलादेखि अहिलेसम्म उस्तै छ । यो प्रवृत्तिले पार्टी र आफ्नो क्षेत्रका विकासका लागि इमान्दारितापूर्वक काम गरेका नेता, कार्यकर्तामा निराशा छाएको थियो । त्यसैले पनि यसपटक केन्द्रीकृत सोचका विरुद्ध धेरै ठाउँबाट विद्रोहको स्वर गुञ्जियो । प्रदेश र जिल्ला तथा क्षेत्रका नेता, कार्यकर्ताको विद्रोहले राजनीतिक दलहरूको केन्द्रमा हलचल ल्याएको छ । कार्यकर्ता तहमा बढ्दो असन्तुष्टिमा ध्यान दिन नसके राजनीतिक दलहरूलाई यस पटकको निर्वाचन सहज देखिँंदैन ।
राजनीतिक दलका नेताहरूले प्रायः भाषणमा लोकतन्त्रको वकालत गरेको सुनिन्छ तर, अधिकांश दलमा आन्तरिक लोकतन्त्र भने कमजोर छ । पार्टीका अध्यक्ष, सभापतिको हुकुम नमान्ने नेता, कार्यकर्तालाई पाखा लगाउने, उनीहरूको गुणगान गाउनेलाई मात्र अवसर दिने प्रवृत्तिलाई लोकतन्त्र मान्न सकिँंदैन । दलभित्र निरङ्कुशतन्त्र लागू गरेर बाहिर लोकतन्त्रको गफ दिने नेताहरूलाई अब भने गाह्रो देखिन्छ । अहिलेको समयमा कार्यकर्ताहरू र आम मतदाताहरू पहिलेको तुलनामा धेरै सचेत छन् । उनीहरू नेताले गरेरका गफ पहिला जसरी आँखा खिम्लिएर पत्याउने अवस्थामा छैनन् । सही र गलत छुट्याउने र आफै समीक्षा गर्ने अवस्थामा मतदाता पुगिसकेका बेला नेताहरू भने परम्परागत शैलीमै आफ्नो स्वार्थ अनुकूल चल्न खोजिरहेका छन् । यसपटकको मनोनयनमा धेरै ठाउँमा स्वतन्त्र र बागीको सङ्ख्या बढ्नुको एउटा कारण यो पनि हो । यसले आम कार्यकर्तासमेत दलभित्र लोकतन्त्र खोजिरहेका छन्, असल उम्मेदवार खोजिरहेका छन् भन्ने पनि देखिन्छ । कार्यकर्ताहरू यसरी सचेत बन्दै गएमा ठूला नेताहरूले व्यापारी वा मन परेका मान्छेलाई टिकट बिक्री गर्ने र इमान्दार नेता कार्यकर्ताले कहिल्यै टिकट नपाउने प्रवृत्ति पनि निरुत्साहित हुनसक्छ । त्यसैले यस्तो खबरदारी जरुरी छ । अर्कातिर अहिले स्वतन्त्र उम्मेदवारी बढ्नुमा गत स्थानीय तह निर्वाचनमा स्वतन्त्र उम्मेदवारहरूको चर्चा र केही ठाउँको जितले पनि भूमिका खेलेको छ । राजनीतिक दलहरूप्रति निराश आम मतदाता पछिल्लो समय स्वतन्त्र उम्मेदवारको खोजीमा छन् । कतिपय नेताहरूले भने स्वतन्त्रको नाममा मौकाको फाइदा उठाउन खोजेका पनि हुनसक्छ । यस्तो प्रवृत्तिबाट भने आम मतदातासमेत हुन जरुरी छ । अबका दिनमा दलले उठाएको जोसुकै व्यक्तिलाई भोट हाल्नेभन्दा पनि आफूले बुझेर सक्षम व्यक्तिलाई भोट हाल्न जरुरी छ । आम मतदाताको निर्णयले मात्र देशको भविष्य बदल्न सक्छ । त्यसैले मतदाता सचेत हुन जरुरी छ ।