बिर्तामोड । भौतिक संरचना निर्माण भएको १२ वर्षपछि बिर्तामोडमा इन्जिनियरिङ कलेज सञ्चालन हुन लागेको छ ।

आसयपत्र लिएर भौतिक संरचना निर्माण भएपनि सम्बन्धन नपाउँदा कलेज सञ्चालनमा आउन सकेको थिएन । लामो समय कलेज सञ्चालनमा नआउँदा त्यसका निर्माताले त्यहाँ कुखुरा पालन गरेका थिए । अर्जुनधारा–११ स्थित नयाँ बसपार्कमा स्थापना भएको पाथीभरा सेन्टर फर एड्भान्स स्टडिज (पीसीएएस) ले बल्ल सम्बन्धन पाएर कक्षा सञ्चालन गर्न लागेको हो ।

पूर्वाञ्चल विश्वविद्यालयबाट सम्बन्धन पाएर सो कलेजले यसै शैक्षिक सत्रदेखि सिभिल इन्जिनियरिङ, कम्प्युटर इन्जिनियरिङ र इलेक्ट्रोनिक्स इन्जिनियरिङको पढाइ सञ्चालन गर्ने भएको हो । ती तीनवटा संकायमा ४८–४८ जनाको कोटा रहेको छ ।

१२ वर्षपछि बल्ल आफूहरुले इन्जिनियरिङ कलेज सञ्चालन गर्न लागेको सञ्चालक युवराज प्रसाईले बताए । ‘१२ वर्षपछि खोला पनि फर्किन्छ भन्छन्’, उनले भने,‘हाम्रो कलेज पनि त्यस्तै भयो १२ वर्षपछि बल्ल सम्बन्धन पायौं ।’

प्रसाईले कलेज सञ्चालनका लागि आवश्यक सबै भौतिक पूर्वाधार तयार गरिसकेका थिए । १ बिगाहा २७ कठ्ठा जग्गामा सो कलेज निर्माण गरिएको छ । समयमै सञ्चालन गर्न नसक्दा आफूहरुले निकै क्षति ब्यहोर्नुपरेको प्रसाईंले जानकारी दिए । सुविधासम्पन्न कक्षाकोठा, आवश्यक ल्याब सुविधा, दक्ष प्राध्यापकहरुबाट गुणस्तरीय अध्यापनजस्ता सेवा सुविधा रहने आफूहरुको कलेजमा अरु इन्जिनियरिङ कलेजसरह नै शुल्क लिइने प्रसाईले जानकारी दिए ।