विजयपुर । धरान उपमहानगरपालिकाका दुई सामुदायिक विद्यालयले साख जोगाउन कक्षा १२ को नतिजाको गलत तथ्याङ्क सार्वजनिक गरेको पाइएको छ ।

धरानका कक्षा १२ को परीक्षामा सहभागी १२ विद्यालयको विश्लेषणात्मक समाचार ब्लाष्टमा प्रकाशित भएको थियो । राष्ट्रिय परीक्षा बोर्डले कक्षा १२ को नतिजा भदौ १८ गते सार्वजनिक गरेको थियो । सो विषयमा ब्लाष्टले १२ वटै विद्यालयका प्रधानाध्यापकसँग तथ्याङ्क सङ्कलन गरेर समाचार प्रकाशित गरेको थियो ।

प्रधानाध्यापकहरूले दिएको तथ्याङ्कका आधारमा ‘सामुदायिक विद्यालयमा कक्षा १२ को नतिजाः ‘नमुना विद्यालय’ पब्लिकलाई २ विद्यालयले उछिने’ शीर्षकको समाचार प्रकाशित गरिएको थियो । तर, पब्लिकलाई उछिनेको भनिएका स्कुलहरूका प्रधानाध्यापकले गलत तथ्याङ्क दिएको पुष्टि भएको छ ।

ल्याबोरेटरी माविका प्रधानाध्यापक शङ्कर भण्डारीले परीक्षामा सम्मिलित विद्यार्थीमध्ये ६७ दशमलव ३० प्रतिशत उत्तीर्ण भएको ब्लाष्टलाई बताएका थिए । तर, प्रधानाध्यापक भण्डारीले दिएको तथ्याङ्कभन्दा आधा मात्रै विद्यार्थी उत्तीर्ण भएको पाइएको छ ।

उनले ५२ जना विद्यार्थीमा ३५ जना विद्यार्थी उत्तीर्ण भएको बताएका थिए । तर, उनले दिएको यो तथ्याङ्क गलत भेटियो । ल्याबोरेटरीका जम्मा १७ जना विद्यार्थी (३२ दशमलव ६९ प्रतिशत) मात्रै उत्तीर्ण भएको पाइएको छ ।

गलत तथ्याङ्क दिएको बारे प्रश्न गर्दा प्रधानाध्यापक भण्डारीले आफूले नियतवश बढाएर तथ्याङ्क नदिई मानवीय त्रुटि भएको दाबी गरे । उनले भने, ‘म बाहिर थिएँ । कर्मचारीले ३५ प्रतिशत उत्तीर्ण भनेका रहेछन् । मैले ३५ जना सुनेँ । यो मानवीय त्रुटि हो ।’ तर, उनले ३५ प्रतिशत पनि वास्तविक उत्तीर्ण विद्यार्थीको तथ्याङ्कसँग भने मेल खाँदैन । ल्याबोरेटरीबाट परीक्षामा सम्मिलित कुल विद्यार्थी ३२ प्रतिशतमात्रै उत्तीर्ण भएका छन् ।

यस्तै धरान–१५ स्थित शिक्षा सदन माविले पनि ब्लाष्टलाई गलत तथ्याङ्क दिएको पाइएको छ । शिक्षा सदन माविमा सहायक प्रधानाध्यापक अशोक पोखरेलले कुल विद्यार्थी सङ्ख्याको ४७ प्रतिशत विद्यार्थी उत्तीर्ण भएको ब्लाष्टलाई बताएका थिए । उनले दिएको तथ्याङ्कअनुसार कुल विद्यार्थीको आधारमा प्रतिशतलाई सङ्ख्यामा रूपान्तरण गर्दा ७५ जना विद्यार्थी उत्तीर्ण भएको समाचार प्रकाशित गरेको थियो । तर, शिक्षा सदनबाट कुल १ सय ५९ जना विद्यार्थी परीक्षा दिएकामध्ये जम्मा १७ जना विद्यार्थी मात्रै उत्तीर्ण भएको पाइएको छ । यो कुल विद्यार्थीको १० दशमलव ६९ प्रतिशत मात्रै हो ।

यी २ विद्यालयले दिएको गलत तथ्याङ्कका आधारमा धरानको नमुना विद्यालय पब्लिक हाई स्कुललाई उछिनेको भन्ने समाचार प्रकाशित भएको थियो तर, उत्तीर्ण विद्यार्थीहरूको तथ्याङ्क हेर्दा पब्लिक हाईस्कुल धरानले धरानका सामुदायिक विद्यालयमध्ये सबैभन्दा बढी विद्यार्थी उत्तीर्ण गराउन सफल भएको पाइएको छ ।

पब्लिक हाई स्कुलबाट परीक्षामा सम्मिलित कुल विद्यार्थीमध्ये ३७ दशमलव २३ प्रतिशत उत्तीर्ण भएका छन् । पब्लिक हाई स्कुलबाट परीक्षामा सम्मिलित कुल ६ सय १५ जना विद्यार्थीमध्ये २ सय २९ विद्यार्थी उत्तीर्ण भएका छन् ।

वरिष्ठ अधिवक्ता सुमनचन्द्र कार्कीका अनुसार गलत तथ्याङ्क दिएर भ्रम सिर्जना गर्नु कानूनीरूपमा दण्डनीय हुन्छ । उनी भन्छन्, ‘यसरी गलत तथ्याङ्क दिनेलाई मुलुकी अपराध संहिता २०७४ ले कानूनी कारबाहीको समेत व्यवस्था गरेको छ ।’