विजयपुर । धरानका सामुदायिक विद्यालयमध्ये कक्षा १२ को नतिजामा नमुना विद्यालय पब्लिक हाई स्कुललाई ल्यावोरेटरी मावि र शिक्षा सदनले उछिनेका छन् ।

धरान उपमहानगरको शिक्षा, युवा तथा खेलकुद महाशाखाका शिक्षा अधिकृत मनोज भट्टराईका अनुसार कक्षा १२ को परीक्षामा धरानका १२ वटा सामुदायिक विद्यालयका विद्यार्थी सहभागी थिए । राष्ट्रिय परीक्षा बोर्डले भदौ १८ गते सार्वजनिक गरेको कक्षा १२ को नतिजालाई केलाउँदा पब्लिकलाई अन्य विद्यालयले उछिनेको पाइएको हो ।

ल्यावोरेटरी माविका परीक्षामा सहभागी कुल विद्यार्थीमा ६७ दशमलव ३० प्रतिशत उत्तीर्ण भएका छन् भने पब्लिक हाई स्कुलका परीक्षामा सम्मिलित कुल विद्यार्थीमध्ये ३७ दशमलव २३ प्रतिशत मात्रै उत्तीर्ण भएका छन् । ल्यावोरेटरी माविका ३० दशमलव ७ प्रतिशत बढी उत्तीर्ण भएका हुन् । पब्लिक हाई स्कुलको नतिजालाई शिक्षा सदन माविले पनि उछिनेको छ । पब्लिकभन्दा शिक्षा सदन माविले ९ दशमलव ८९ प्रतिशतले उछिनेको हो ।

ल्यावोरेटरी माविका प्रधानाध्यापक शङ्कर भण्डारीका अनुसार विद्यालयबाट परीक्षामा सम्मिलित कुल ५२ जना विद्यार्थीमध्ये ३५ जना विद्यार्थी उत्तीर्ण भएका छन् । यो कुल विद्यार्थीको ६७ दशमलव ३० प्रतिशत हो । ल्यावोरेटरीका विद्यार्थीले ३ दशमलव ३५ जिपिएसम्म ल्याउन सफल भएका छन् । शिक्षा सदन माविमा सहायक प्रधानाध्यापक अशोक पोखरेलका अनुसार परीक्षामा सम्मिलित कुल १ सय ५९ जना विद्यार्थीमध्ये ७५ विद्यार्थी उत्तीर्ण भएका छन् ।

जुन कुल विद्यार्थीको ४७ प्रतिशत हो । पब्लिक हाई स्कुलका प्रधानाध्यापक इन्द्रमोहन झाका अनुसार कक्षा १२ को परीक्षामा कुल ६ सय १५ जना सम्मिलित विद्यार्थीमध्ये २ सय २९ विद्यार्थी उत्तीर्ण भएका छन् । जुन कुल विद्यार्थीको ३७ दशमलव २३ प्रतिशतमात्रै हो । अन्य विद्यालयको तुलनामा धरानको नमुना विद्यालय पब्लिकको सन्तोषजनक नतिजा होइन । स्कुलमा दुई विद्यार्थीले सबैभन्दा बढी ३ दशमलव ६७ र ३ दशमलव ६० जिपिए ल्याएको प्रधानाध्यापक झाले जानकारी दिए । झाका अनुसार २ सय ५३ जना विद्यार्थीले पूरक परीक्षा दिन पाउने भएका छन् । शिक्षा निकेतन माविले पनि पब्लिक माविको जत्ति नै नतिजा ल्याउन सफल भएको छ ।

महेन्द्र बहुमुखी क्याम्पस धरानको शिक्षाशास्त्र सङ्कायका उप–प्राध्यापक तथा शिक्षाविद् बालचन्द्र कट्टेलले सङ्ख्याको आधारमा ल्यावोरेटरी माविको गुणस्तरीय शिक्षा देखिएको बताए । उनले पब्लिक हाई स्कुलका एक–दुईजना विद्यार्थीले बढी जिपिए ल्याउँदैमा गुणस्तरीय शिक्षा भन्न नमिल्ने बताए । उनले भने, ‘एक–दुईजना विद्यार्थीको नतिजा राम्रो आउँदैमा गुणस्तरीय भन्न सकिँदैन ।’ कुन विद्यालयमा गुणस्तरीय शिक्षा भनेर पत्ता लगाउनका लागि प्यारामिटर बनाएर तथ्याङ्क केलाउनु पर्ने बताए ।

शिक्षा निकेतन माविका प्लस टु को–अर्डिनेटर आशिष मास्केका अनुसार परीक्षामा सम्मिलित कुल २ सय २९ जना विद्यार्थीमध्ये ८५ विद्यार्थी उत्तीर्ण हुन सफल भएका छन् । जुन कुल विद्यार्थीको ३७ दशमलव ११ प्रतिशत हो । पब्लिकका कुल विद्यार्थीमध्ये ३७ दशमलव २३ प्रतिशत उत्तीर्ण भएका छन् । निकेतन माविका विद्यार्थीले ३ दशमलव ३७ प्रतिशतसम्म जिपिए ल्याउन सफल भएका छन् । शारदा बालिका माविका प्रधानाध्यापक इन्द्र राईका अनुसार कुल ६८ जना परीक्षामा सम्मिलित विद्यार्थीमध्ये २४ जना उत्तीर्ण भएका छन् । सबैभन्दा बढी जिपिए ३ दशमलव २४ सम्म ल्याएका छन् ।

सरस्वती मावि पानवारीका परीक्षामा सम्मिलित कुल ९६ विद्यार्थीमध्ये २१ जना विद्यार्थी उत्तीर्ण भएका छन् । सरस्वती माविका प्रधानाध्यापक गङ्गा धमलाका अनुसार ३ दशमलव ३० जिपिएसम्म ल्याउन सफल भएका छन् ।

ज्ञानोदय माविका विष्णुकुमार राईका अनुसार कुल १ सय ४० सम्मिलित विद्यार्थीमध्ये ३० जना उत्तीर्ण भएका छन् । चन्द्र संस्कृत माविका प्रधानाध्यापक अजय साहीका अनुसार कुल परीक्षामा सम्मिलित  ५० विद्यार्थीमध्ये  ९ जना विद्यार्थी उत्तीर्ण हुन सफल भएका छन् ।

भालढुङ्गा माविका प्रधानाध्यापक सुरेन्द्र अधिकारीका अनुसार परीक्षामा सम्मिलित ३० जना विद्यार्थीमध्ये ५ जना विद्यार्थी उत्तीर्ण हुन सफल भएका छन् । त्यहाँका विद्यार्थीले २ दशमलव ५३ जिपिएसम्म ल्याएका छन् ।  

पब्लिक मावि फुस्रेका प्रधानाध्यापक पुरुषोत्तम निरौलाका अनुसार परीक्षामा सम्मिलित कुल ४८ जना विद्यार्थीमध्ये ४ जना विद्यार्थी उत्तीर्ण हुन सफल भएका छन् । पञ्चायत माविका प्रधानाध्यापक उत्तम श्रेष्ठका अनुसार परीक्षामा सम्मिलित १६ जना विद्यार्थीमध्ये २ जना विद्यार्थी उत्तीर्ण भएका छन् । विद्यालयका विद्यार्थीले जिपिए २ दशमलव ७५ सम्म लाएका छन् ।

सहिद स्मृति माविका प्रधानाध्यापक रामबहादुर विष्टका अनुसार परीक्षामा सम्मिलित ३९ जना विद्यार्थीमध्ये न्यून मात्रामा उत्तीर्ण भएको बताएका छन् । जिपिए २ दशमलव ६७ सम्म ल्याएका छन् ।