भोजपुर । भोजपुरमा १६ हजार भन्दा बढी बालबालिकालाई कोरोना बिरुद्धको फाइजर खोप लगाइएको छ । पहिलो चरण अन्र्तगतको अभियानमा जिल्लाका १६ हजार भन्दा बढी बालबालिकालाई फाइजर खोप लगाइएको हो ।

अभियानका क्रममा ५ देखि ११ बर्ष उमेर समुहका १६ हजार ५ सय २४ जना बालबालिकाले खोप लगाएका हुन् । बालबालिकाहरुलाई खोप लगाउने अभियान जिल्लामा अहिले पनि जारी रहेको स्वास्थ्य कार्यालय भोजपुरका सुचना अधिकारी सुरेन्द्र बुढाथोकीले बताए ।

पहिलो मात्रा खोप लगाएकाहरुका लागि पुन दोश्रो मात्राको खोप अभियान संचालन गर्न लागिएको उनले जानकारी दिए । बुढाथोकीका अनुसार दोश्रो चरणको खोप अभियान भाद्र २७ गते देखि सुरु हुने भएको छ । स्वास्थ्य कार्यालय भोजपुरको तथ्यांक अनुसार जिल्लामा अहिले सम्म एक लाख सात हजार सात सय ५४ जनाले कोरोना बिरुद्धको खोप लगाएका छन् ।

खोपबाट बञ्चित हुन नपरोस भनेर जिल्ला अस्पतालमा हप्तामा एक दिन खोप लगाउने ब्यवस्था गरिएको स्वास्थ्य कार्यालय भोजपुरले जनाएको छ ।