धनकुटा । मिर्गौला पिडित इटहरी उप–महानगरपालिका वडा नं.२ कर्णेलटोलका वर्ष ३५ का निलम पौडेलको उपचार सहयोगको लागि २ लाख, ४६ हजार, ९ सय रुपयाँ वुधवार उनका परिवारलाई हस्तान्तरण गरिएको छ ।

‘निलम पौडेल बचाऔं आर्थिक सहयोग संकलन अभियान–०७९’ धनकुटाका संयोजक थामवहादुर राई (सानो) को अगुवाईमा मिर्गौला पिडित निलमका आमा शान्ता पौडेललाई नोवेल मेडिकल कलेज विराटनगरमा गएर नगद हस्तान्तरण गरिएको हो ।

अभियानका संयोजक थामवहादुर राईले लामो समय धनकुटामा बसोबास गरेका पौडेल परिवारले उपचारको क्रममा पैसाको अभाव भएको बताएपछि धनकुटामा नगद संकलन गरेर सहयोग गरिएको बताए । उनले बुधबार बिहान धनकुटामा पत्रकार सम्मेलन गरेर नगद संकलन गरिनुको उदेश्य माथि प्रष्ट पारेर  पिडित परिवारलाई नगद हस्तान्तरण गरिएको बताएका छन् ।

अभियानका आर्थिक समिति संयोजक प्रविण पोख्रेलले धनकुटा बजारमा १ लाख, ९१ हजार, ९ सय, १५, हिले वजारमा ३७ हजार, ८ सय ३५ र धरानबाट ६ हजार गरि जम्मा २ लाख, ४६ हजार, ९ सय रुपयाँ नगद पौडेल परिवारलाई हस्तान्तरण गरिएको बताए ।

निलम पौडेल बचाऔं अभियानको क्रममा कत्तारबाट प्रज्वल पोख्रेलले ३० हजार, बराहिनबाट हर्क राईले ५ हजार, ५ सय, धनकुटा बसपार्कका युवा व्यवसायी विशु आठपहरियाले ६ हजार, धनपा–७ का समाजसेवी देव लिम्बूले ५ हजार, ५ सय, निर्माण व्यवसायी लक्ष्मण वि.क.ले ५ हजार नगद सहयोग गरेकोे प्रविणले बताए ।

उनले त्यसका अतिरिक्त अभियानको क्रममा समितिका सदस्यले धनकुटा बजार र हिले वजारमा घरघर र पसल पसलमा गएर नगद संकलन गरेको बताए । नगद हस्तान्तरण कार्यक्रममा १ नम्वर प्रदेस सभा सदस्य एवं विधायन समितिका सभापति इन्द्रमणी पराजुलीको समेत उपस्थिति रहेको थियो ।

पौडेलको दुबै मिर्गौला फेल भएर २ हप्ता देखी नोवेल मेडिकल कलेजको सधन उपचार कक्षमा आईसियुमा राखेर उपचार भईरहेको छ । त्यो भन्दा पहिले १५ दिनसम्म विपि कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान धरानमा पौडेललको उपचार गरिएको थियो । त्याँहा आइसियूको अभाव भएपछि २ हप्ता अघि नोवेल मेडिकल कलेज विराटनगरमा थप उपचारको लागि पौडेललाई लगिएको थियो । उनको स्वास्थमा सन्तोषजनक सुधार आउँदै गरेको अस्पतालका चिकित्शकहरुले जानकारी दिएका छन् । 

विगत २५ वर्ष देखी धनकुटा वजारमा वस्दै आएका पौडेलका परिवार २ वर्ष अघि इटहरी उपमहानगरपालिका वडा नं.२ कर्णेलटोलमा घर वनाएर वसाँई सरेका थिए । यसैक्रममा अहिले पौडेल परिवारका जेठा छोरा निलम पौडेलको दुवै मृगौला फेल भएर विरामी परेपछि उपचारको लागि पैसाको अभाव भएको आमा शान्ता पौडेलले बताएकी थिइन ।

नगद ग्रहण गर्दै पौडेलले भनिन्– ‘आफ्नो छोरालाई वचाउनको लागि सहयोग गर्नु हुने धनकुटाका छरछिमेक, इष्टमित्रहरु र सम्पुर्ण समयोगी मनहरुलाई धन्यवाद दिन्छु ।’ उनले दैनिक छोराको उपचारको लागि १८ देखि ३० हजार रुपयाँसम्म लाग्ने गरेको बताईन । आफ्नो छोरालाई बचाउनको लागि समिति वनाएर नगद संकलन गरेर विराटनगरसम्म आएर सवै इष्टमित्रले सहयोग दिदा विरामी छोराको समेत मनोबल बढेको र आफ्नो छोरा चाँडै निको हुने शान्ता पौडेलले आशा व्यक्त गरेकी छन् । 

उपचार खर्च जुटाउने उदेश्यले धनकुटामा स्थानिय समाजसेवी थामबहादुर राईको संयोजकत्वमा ‘निलम पौडेल बचाऔं आर्थिक सहयोग संकलन अभियान–०७९’ भनेर २५ सदस्यीय सहयोग संकलन समिति गठन गरिएको थियो ।

समितिले अव उप्रान्त पुनः वजार वजार घुमेर सहयोग संकलन नगर्ने संयोजक थामवहादुर राईले बताएका छन् । उनले कोही कसैले सहयोग गर्ने मनसाय आएको खण्डमा निलम पौडेलको नाममा एनआइसी एशीयाको इटहरी शाखामा रहेको खाता नं.००४५७५२१५८९२६००१ मा सोझै नगद जम्मा गरि दिनु पनि अनुरोध गरेका छन् ।