विजयपुर । जनगायक जेबी टुहुरे (जुठबहादुर खड्गी) स्मृति सन्ध्यामा गीतकार लब प्रधान ‘मित्र’ लाई सम्मान गरिने भएको छ ।
जनगायक टुहुरेले गाएको ‘बसाइँ हिँड्नेको ताँतीले’ गीतका रचनाकार प्रधानलाई सम्मान गरिने भएको हो ।

बुधबार धरानमा पत्रकार सम्मेलन गर्दै टुहुरेको स्मृति दिवसमा भदौ १० गते (शुक्रबार) धरानमा १ लाख नगद्सहित ‘जेबी टुहुरे स्रष्टा सम्मान–२०७९’ बाट प्रधानलाई सम्मान गरिने आयोजक जेबी टुहुरे फाउन्डेसनले जनाएको छ ।

टुहुरेले पहिलो पटक वि.सं. ०३३ सालमा धरानको भूतपूर्व सैनिक विश्राम भवन (धरान–१०) मा पहिलो पटक ‘आमा दिदी बैनी हो’ बोलको कालजयी गीत सार्वजनिक गरेका थिए । संविधानसभा सदस्यसमेत रहेका टुहुरेको गतवर्ष भदौ १० गते काठमाडौंको वयोधा अस्पतालमा निधन भएको थियो ।

वि.सं.२००१ सालमा धरानमा जन्मिएका टुहुरेको प्रथम स्मृति दिवस धरानमै मनाउन लागिएको आयोजक जेवी टुहुरे फाउन्डेसनकी अध्यक्ष निर्भिका टुहुरेले जानकारी दिइन् ।

नेपालको परिवर्तनमा गीतका माध्यमबाट महत्वपूर्ण योगदान गर्ने टुहुरे धरानमै जन्मिएका थिए । टुहुरेको सम्झना र योगदानलाई नयाँ पुस्तामाझ पु¥याउने उद्देश्यले ख्यातिप्राप्त गायकहरूले टुहुरेकै गायकी रहेका गीतहरू गाउनेछन् । कार्यक्रममा वरिष्ठ गायक दीप श्रेष्ठ, शम्भु राई, नन्दकृष्ण जोशी, जीवन शर्मा, भीषण मुकारुङ, चेतन सापकोटा, बाबु बोगटी, प्राश्ना शाक्य, हर्षु राई, रूपकचन्द्र डोटेल, सविन लिम्बू, आकाश थापा, साजन राई, दुर्गा परियार, सञ्जय तुम्रोक, प्रशान्त शर्मा, प्रदेश लिम्बू, जितेन्द्र चौधरी, गङ्गा राई, कृष्णराजा श्रेष्ठलगायतले टुहुरेले गाएका गीत प्रस्तुत गर्नेछन् ।

आयोजकका अनुसार सङ्गीतकारसहित केही कलाकार आइसकेको र केही आउँदै गरेका छन् । कार्यक्रममा पूर्वप्रधानमन्त्री एवम् माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल (प्रचण्ड), १ नं. प्रदेशका मुख्यमन्त्री राजेन्द्रकुमार राई, सभामुख प्रदीपकुमार भण्डारी, सामाजिक विकासमन्त्री विष्णुमाया तुम्बाहाङ्फेलगायतको उपस्थिति रहने आयोजकले जनाएको छ । कार्यक्रमको सह–आयोजक खड्गी समाज धरान र धरान सङ्गीत प्रतिष्ठान रहेका छन् ।