इनरुवा । स्वास्थोपचारमा सहज पहुँचको उद्देश्यसाथ इनरुवामा संचालनमा रहेको घुम्ती स्वास्थ्य शिविर १७ औं दिन समेत जारी छ ।  फागुनको २२ गतेबाट संचालनमा ल्याइएको निःशुल्क स्वास्थ्य शिविर भदौ २३ गते सम्म चल्ने छ ।

इनरुवा नगरपालिका, शशी मेडिको र शशी हेल्थ सर्भिस एण्ड पोलिक्लिनिकले संयुक्त रुपमा संचालनमा ल्याएको शिविरमा डा.रोहित कुमार कर्णले स्वास्थ्य जाँच तथा परामर्श सेवा दिंदै आएका छन् ।

इनरुवा १ को सत्यनारायण मन्दिरबाट सुरुवात भएको शिविर नगरका ५ वटा वडामा सम्पन्न भैसकेको छ । इनरुवाको १,२,४,५र ६ नम्बर वडामा शिविर सम्पन्न भएको इनरुवा नगरपालिकाको कार्यालयले जनाएको छ । नगरपालिकाका प्रवक्ता सुमन थापाका अनुसार शिविर व्यवस्थापनको जिम्मेवारी सम्वन्धित वडाले गर्दै आएको छ । थापाका अनुसार घुम्ती स्वास्थ्य शिविर स्थानीय वडाले तोकेको स्थानमा २ देखि ३ दिन सम्म संचालन गर्ने गरिएको छ ।

शिविरमा छाती,फोक्सो, मुटु, पेट, प्रेसर, सुगर, आँखा र थाइराइड सम्वन्धि उपचार गरिनुकासाथै स्वास्थ्य सम्वन्धि परामर्श दिने गरिएको वडा नम्बर ६ का अध्यक्ष समेत रहेका नगर प्रवक्ता थापाले बताए । नगरभरका नागरिकलाई सहज स्वास्थ्य उपचार सेवा दिलाउने उद्येश्यले नगरपालिकाले निःशुल्क स्वास्थ्य शिविर संचालनमा ल्याएको उनले बताए ।

शिविरमा सेवा प्रदान गर्दै आएका डा.कर्णले सामाजिक उत्तरदायित्व वहन गर्ने उद्येश्यले गाउँ टोलमा पुगेर निःशुल्क स्वास्थ्य सेवा दिंदै आएको बताए । डा.कर्णका अनुसार शिविर मार्फत सेवा लिनेमा महिला तथा जेष्ठ नागरिकको संख्या ज्यादा छ । उनले अन्य स्थानीय तहले समेत निःशुल्क शिविर संचालनमा ल्याउन चाहे आफुले स्वास्थ्य सेवा दिने बताए ।