धरान । नेपाली नर्सले शून्य लागतमा बेलायतमा रोजगारी पाउने भएका छन् ।

सोमबार नेपाल र बेलायतबीच बेलायतको स्वास्थ्य क्षेत्रमा नेपाली स्वास्थ्यकर्मीलाई रोजगारी प्रदान गर्नेसम्बन्धी समझदारीपत्रमा हस्ताक्षर भएको छ । श्रम, रोजगार तथा सामाजिक सुरक्षामन्त्री शेरबहादुर कुँवरको उपस्थितिमा श्रम सचिव एकनारायण अर्याल र नेपालका लागि बेलायती राजदुत निकोला पोलिटले समझदारीपत्रमा हस्ताक्षर गरेका छन् ।

स्वास्थ्यकर्मीको भर्ना प्रक्रियासँग सम्बन्धित सम्पूर्ण जानकारी श्रम मन्त्रालयको वेबसाइटमा राखिने बताइएको छ । बेलायतमा रोजगारीका लागि आवश्यक योग्यता पुगेका व्यक्तिले अनलाइनमार्फत् वैदेशिक रोजगार विभागमा आवेदन दिन सक्नेछन् ।

स्वास्थ्य जनशक्तिको भर्ना प्रक्रियामा तेस्रो पक्षको संलग्नता हुनेछैन । रोजगारीका लागि बेलायत जान चाहनेले सम्बन्धित सरकारी निकायमा सम्पर्क गर्नुपर्नेछ । तोकिएको योग्यता पुगेका महिला तथा पुरुष सबैले आवेदन गर्न सक्नेछन् । सबैका लागि समान अवसर प्रदान गरिएको बताइएको छ । दुई देशबीच भएको समझदारीअनुसार भर्ना प्रक्रियालाई निष्कर्षमा पुर्याउन प्रोटोकल निर्माण गरिने जनाइएको छ । बेलायत रोजगारीका लागि नेपाली स्वास्थ्यकर्मीको निश्चित योग्यता हुनुपर्ने व्यवस्था गरिएको छ ।

रोजगारीका लागि बेलायत जान चाहने नेपाली राहदानीवाहक स्वास्थ्यकर्मीको उमेर २० देखि ४५ वर्षबीचको हुनुपर्नेछ । त्यस्ता जनशक्तिले निश्चित शैक्षिक योग्यता प्राप्त गरेको हुनुपर्नेछ । स्टाफ नर्सका रूपमा काम गर्दै आएको, नर्सिङमा स्नातक उत्तीर्ण वा नेपाल सरकारबाट मान्यता प्राप्त संस्थाबाट नर्सिङमा स्नातकोत्तर भएको हुनुपर्नेछ ।

नेपाल नर्सिङ काउन्सिलबाट व्यावसायिक लाइसेन्स लिएको र कम्तीमा दुई वर्षको अनुभव भएका व्यक्तिले आवेदन दिन सक्नेछन् । अङ्ग्रेजी भाषामा दक्ष हुनुपर्नेछ । अङ्ग्रेजी भाषा परीक्षामा कम्तीमा ६.५ नम्बर ल्याउनु पर्नेछ । छनोट चरण उत्तीर्ण गर्ने व्यक्तिले कुनै पनि शुल्क तिर्नुपर्ने छैन । शून्य लागतमा स्वास्थ्य क्षेत्रका जनशक्ति बेलायतमा रोजगारीका लागि जान पाउनेछन् । नेपलिज नर्सिङ एसोसिएसन युकेकी अध्यक्ष सुनिता गौतमका अनुसार बेलायतमा नर्सको तलब वार्षिक २५ हजार पाउन्डबाट सुरु हुन्छ र २० प्रतिशत दुर्गम भत्ता हुन सक्छ ।

नेपालबाट नर्ससँगै ल्याव असिष्टेन्ट, अनमि, बीएन, फार्मेसिस्ट पठाउने गरी श्रम सम्झौता भएको हो । बेलायतमा रोजगारीका लागि प्रारम्भमा २ हजार नर्स पठाउने तयारी नेपालले गरेको छ । उनीहरूले पाँच वर्षका लागि बेलायतमा काम गर्न पाउनेछन् । 

दुई देशबीच भएको समझदारीअनुसार बेलायतको स्वास्थ्य सेवामा कार्यरत रहँदा नेपाली स्वास्थ्यकर्मीको सेवासुविधा र अधिकार बेलायती स्वास्थ्यकर्मी सरह हुने व्यवस्था मिलाइएको छ । नेपाली स्वास्थ्यकर्मीको छनोट, पदस्थापना र सेवा सुविधासम्बन्धी मापदण्ड छलफलमै रहेको र कार्यान्वयन ढाँचा (इम्प्लिमेन्टेसन प्रोटोकल) अनुसार हुनेगरी द्विपक्षीय सहमति भएको मन्त्रालयका सह–प्रवक्ता डा. थानेश्वर भुसालले जानकारी दिएका छन् ।

वैदेशिक रोजगार विभाग र बेलायतको स्वास्थ्य तथा सामाजिक हेरचाह विभागबीच आवश्यक समन्वयबाट स्वास्थ्यकर्मीको भर्ना प्रक्रिया अगाडि बढ्नेछ । भर्ना प्रक्रियालाई निष्कर्षमा पु¥याउन दुवै देशका सरकारी निकायको सहभागितामा कार्यान्वयन प्रोटोकल तय गरिने समझदारी बनेको छ ।

समझदारीअनुसार नेपाली स्वास्थ्यकर्मीलाई बेलायतको स्वास्थ्य सेवामा सुरक्षित, मर्यादित र व्यवस्थित तवरले रोजगारीमा संलग्न हुने व्यवस्था मिलाइने सह–प्रवक्ता भुसालले बताएका छन् ।