विराटनगर । पूर्वी नेपालको सबैभन्दा ठूलो सरकारी अस्पताल कोशीको सर्जरी विभाग बिस्तार भएको छ । ३ करोड १ लाख ७ हजार १ सय ६४ रूपैयाँ लागतमा निर्माण भएको कोशी अस्पतालको ओपीडि भवनको माथिल्लो तलामा सर्जरी विभाग विस्तार भएको हो ।

बिस्तार भएको सर्जरी वार्डको उद्घाटन स्वास्थ्य तथा जनसंख्या मन्त्री भवानी खापुङ्गले आइतबार गरे । सर्जरी विभागमा चार वटा अप्रेसन थ्रेटरसहित ५० शैय्या रहेको कोशी अस्पतालका सर्जरी विभाग प्रमुख डा. रवि बास्टकोटीले जानकारी दिए । यसअघि सर्जरी विभाग कोशी अस्पतालको पुरानो गाइनो वार्डको भवनमा रहेको थियो । गाइनो, सर्जरीको अप्रेसन थ्रेटर पनि सँगै रहेको थियो । जसले गर्दा सेवा प्रभावमा कठिनाए हुने गरेको थियो । अहिले गाइनो र सर्जरी विभाग छुट्टा छुट्टै रहेको छ । यसअघि सर्जरी विभागमा ३६ वेड रहेको थियो ।

नयाँ भवनमा बिस्तार भएको सर्जरी विभागमा विरामीलाई सहजको लागि लिफट पनि बनाएको छ । नयाँ भवनमा बिस्तार भएको सर्जरी वार्डबाट विरामीले छिटो र क्षरितो सेवा पाउने अस्पतालका मेसु डा. यज्ञराज खरेलले बताए ।

‘अहिले एकै पटकमा चार जनासम्म सर्जरी गरिनुपर्ने विरामी राखेर सर्जरी गर्न सक्ने पूर्वाधारसहितको उपकरणहरू जडान गरिएको छ,’ मेसु खरेलले भने, ‘शल्यक्रिया गरेपछि राखिने पोस्टप वार्डमा १० शैय्या छुटयाएको छ ।’ नयाँ भवनबाट दैनिक ५ देखि १० जनासम्म विरामीको सर्जरी गर्न सकिने अस्पतालले जनाएको छ । तर, सर्जरीको अप्रेसन थ्रेटरमा प्रयाप्त जनशक्ति हुन नसक्दा समस्या हुने चिकित्सकहरूले बताएका छन् ।

सर्जरी वडामा अहिले ४ वटा अप्रेसन थ्रेटर रहेको छ । तर, यहाँ काम गर्ने नर्सको संख्या तीन जना र एक जना हेल्थ एस्टिेन रहेको छ ।  सर्जरी गर्ने १० जना चिकित्सक भएपनि नर्सको अभाव भएको कारणले न्यून संख्यामा शल्यक्रिया हुने गरेको छ । चार वटा अप्रेसन थ्रेटरको लागि दुई सिफटको लागि १५ जना नर्स आवश्यक पर्ने हो । तर, यहाँ तीन जना मात्र नर्सको भरमा फुल फेजमा अप्रेसन थ्रेटर चल्न नसक्ने यहाँ कार्यरत सर्जरी चिकित्सक बताउँछन् । 

अस्पताल मेसु खरेलले जनशक्ति अभावको विषयमा स्वास्थ्यमन्त्रीलाई पनि जानकारी गराएको बताए । ‘मन्त्री ज्यूले पनि सकात्मक रहनुभएको छ । रिक्क्त रहेको स्वास्थ्यकर्मी र नर्सहरू पदपूर्ती गर्ने बताउनुभएको छ,’ उनले भने, ‘केही दिन भित्रमा पदपूर्ती भएपछि सेवा प्रभावमा सहजत हुनेछ ।’

अस्पतालको मेडिकल भवन पनि बिस्तार भएर संचालनमा आइसकेको छ ।

 २ करोड ६ लाख ८६ हजार ९ सय ५७  रूपैयाँ लागतमा कोशी अस्पतालको लिफ्टसहितको मेडिकल भवन निर्माण सम्पन्न भएपछि अहिले संचालनमा आएको हो । ३७ शैय्याको मेडिकल वार्ड रहेको छ ।