विजयपुर । बीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानको विकृति विसङ्गति अन्त्यको माग राखी ‘घोपा बचाउ’ अभियान गरिरहेको हामी नेपाल समूहले अभियान समापन गरेको छ ।

शनिबार समूहले प्रतिष्ठान सुधारका लागि राखेका धेरै मागहरू पूरा गरेको दाबी गर्दै अभियान समापनको घोषणा गरेको हो । अभियान साढे ४ महिनाअघि सुरु भएको थियो ।

समूहका संयोजक सुदन गुरुङले अभियानका क्रममा आफूहरूमाथि धेरै प्रश्न उठेको र प्रश्नको जवाफ नतिजाले दिएको दाबी गरे । उनले निःस्वार्थ रूपमा प्रतिष्ठानको विकृति र विसङ्गति सुधारका लागि अभियान सञ्चालन गरेको पनि बताए । समूहले साढे ४ महिनादेखि विभिन्न ३२ बुँदै माग राख्दै दैनिक प्रतिष्ठानको डेण्टल गेटमा धर्ना दिँदै आएको थियो । समूहले ३२ वटा मागहरूमध्ये धेरै माग पूरा भएको र केही पूरा हुने प्रक्रियामा रहेकाले अभियान समापन गरेको जनाएको छ । समूहले केही दीर्घकालीन माग क्रमिक रूपमा पूरा गर्ने प्रतिष्ठानसँग समझदारी भएकाले अभियान समापन गरेको जनाएको छ ।

समूहले ओपिडी काउण्टर थप भएको, ओपिडीको पुर्जा काट्ने समय थप भएको, ल्याव रिपोर्ट सङ्कलन साढे ७ बजेदेखि गर्न सुरु गरेको जनाएको छ । आकस्मिक कक्ष र ओपिडीमा शुद्ध पिउने पानीको व्यवस्था भएको, अस्पतालमा भएका चुहावट नियन्त्रका लागि कार्य भइरहेको, अस्पतालको आवश्यकताअनुसार कर्मचारीको विज्ञापन भएको समूहले जनाएको छ । ३० बेड आइसियु जडान प्रक्रिया अन्तिम चरणमा पुगेको, २० वटा आइसियु सञ्चालनका लागि आवश्यक कर्मचारी थप गर्नका लागि विज्ञापन भएको समूहले जनाएको छ ।

प्रतिष्ठानमा फार्मेसी सञ्चालन भई अधिकतम् औषधि उपलब्ध गराउन थालेको पनि समूहले जनाएको छ । अस्पतालका आवश्यक सामग्री आपूर्तिका लागि काम भइरहेको, एमआरआई मेसिनका लागि बजेटको सुनिश्चितता भए पनि टेण्डर आह्वान गर्ने, डस्टबिन थप गरिएको समूहले जनाएको छ ।

प्रतिष्ठानलाई सफा राख्ने कार्य भइरहेको, २० बेडको डाइलाइसिस सेवा सञ्चालन दीर्घकालीन योजना भएको जनाएको छ । प्रतिष्ठानको आय–व्यय मासिकरूपमा वेब साइटमा राख्न निर्देशन भइसकेको, इन्टरनेटको वास्तविक आवश्यकता र क्षमता पहिचान गर्न सम्बन्धित शाखालाई निर्देशन भएको जनाएको छ । समूहले अभियानका क्रममा सहयोग गर्ने विभिन्न व्यक्तिहरूलाई सम्मान पनि गरेको छ ।

पुरानो साख फर्काउन निर्देशन
नेपाल सरकारका स्वास्थ्य तथा जनसङ्ख्या मन्त्री भवानीप्रसाद खापुङले बीपी प्रतिष्ठानका पदाधिकारीलाई प्रतिष्ठानको पुरानो साख फर्काउन निर्देशन दिएको बताएका छन् ।

हामी नेपाल समूहको अभियान समापन घोषणा कार्यक्रममा बोल्दै मन्त्री खापुङले प्रतिष्ठानका पदाधिकारीलाई पहिलेको अवस्थामा ल्याउन निर्देशन दिएको बताए ।

उनले प्रतिष्ठानमा पदाधिकारी समयमा नै नियुक्त गरी सबै पदाधिकारीलाई प्रतिष्ठान सुधार गरी पहिलेको साख फर्काउन निर्देशन दिएको बताए । उनले विगतमा दक्षिण एसियामा नै प्रतिष्ठित प्रतिष्ठान धरासायी बन्दै गएको कुरा अवगत भएको बताउँदै भने, ‘पदाधिकारी नियुक्त गरी पुरानै अवस्थामा ल्याउन निर्देशन दिएको छु ।’