इनरुवा । सामाजिक सञ्जालमार्फत् चरित्र हत्या गरिएको भन्दै जिल्ला अस्पताल सुनसरी इनरुवाका डाक्टर आन्दोलित भएका छन् ।

आन्दोलित डाक्टरहरूले दोषीउपर कारबाहीको माग गर्दै जिल्ला प्रशासन कार्यालयमा धर्ना दिएका छन् । मेसु डाक्टर देवराज घिमिरेसहित धर्नामा बसेका डाक्टरहरूले सामाजिक सञ्जालमार्फत् आफूहरू उपर अनाहकको लाञ्छना लगाइएकाले आन्दोलनमा उत्रनुपरेको बताए ।

प्रशासनमा धर्ना बसेका डाक्टरहरूले आफूहरूको मानसम्मानमा चोट पुग्नेखाले अभिव्यक्ति दिने सामाजिक सञ्जाल प्रयोगकर्ता पशुपति दाहाल उपर कारबाहीको माग गरे । उनीहरूले प्रमुख जिल्ला अधिकारी इन्द्रदेव यादवसमक्ष ज्ञापन–पत्रसमेत बुझाएका छन् ।

धर्नास्थलमै डाक्टर भेट्न पुगेका प्रजिअ यादवसमक्ष आन्दोलित डाक्टरहरूले शान्तिपूर्ण तवरले काम गर्ने वातावरण नभएको भन्दै चिन्ता व्यक्त गरेका छन् । सो क्रममा अस्पतालका मेसु डाक्टर घिमिरेले अस्पताल सुधारमा लागेको आफूलगायतको टिममाथि विभिन्न आरोप र अपजस लगाइँदै आएकाले निर्धक्कसाथ स्वास्थ्य सेवामा खटिने वातावरण बनाइनुपर्ने बताए ।

मेसु घिमिरेका अनुसार उपचार गराउन आएकी एक बिरामीको चेकजाँचका क्रममा मुटुको समस्या पाइएपछि जटिल प्रकृतिको भएकाले अन्यत्र उपचार गराउन भनिएको थियो । त्यसपछि परिवारले बिरामीलाई उपचारका लागि काठमाडौंको सहिद गङ्गालाल हृदय रोग प्रतिष्ठानमा उपचारका लागि लगेका थिए ।

त्यहाँको रिपोर्टलाई आधार मान्दै पशुपति दाहालले इनरुवा अस्पताल र डाक्टरमाथि गम्भीर आरोप लगाउँदै सामाजिक सञ्जालमा पोष्ट गरेको मेसु घिमिरेले बताए । सामाजिक सञ्जालमा स्वास्थ्यकर्मीमाथि गालीगलौज, मानहानि, धम्कीपूर्ण भाषा प्रयोगको क्रम बढेकाले सत्यतथ्य छानबिन गरी कारबाहीको मागसहित आन्दोलित भएको उनको भनाइ छ ।

ज्ञापन–पत्र बुझ्दै अवरुद्ध स्वास्थ्य सेवा सञ्चालनमा ल्याउन आग्रह गरेका प्रजिअ यादवले घटनाक्रमप्रति आफ्नो ध्यानाकर्षण भएको बताए । प्रजिअ यादवले स्वास्थ्य सेवा र सेवा प्रवाहमा खटिने डाक्टरलगायत स्वास्थ्यकर्मीको सुरक्षा र अधिकारको सवालमा प्रशासन कटिबद्ध रहेको बताए । उनले सामाजिक सञ्जालको दुरुपयोग भएको पाइएकाले कानूनी दायरामा ल्याइने बताए ।

धर्नाकै बीच डाक्टरहरूले दोषी भन्दै कारबाहीको माग गरेका बलाहाका पशुपति दाहाललाई प्रशासनले बोलाएको थियो । सो क्रममा प्रजिअकै सामुन्नेमा दाहालले आमा बिरामी हुँदाको पीडा र उपचारमा भएको खर्चको विषयलाई लिएर आफूले सामाजिक सञ्जालमा व्यक्त गरेको भावनाको अन्यथा अर्थ लाग्न गएको भन्दै लिखितरूपमा सार्वजनिक माफी मागेका छन् । उनले आफ्नो पोष्टमा अन्यले गरेको फोहोरी कमेन्टप्रति आफूलाई समेत लज्जाबोध भएको बताए ।