विजयपुर । भारतीय पेन्सन पेइङ अफिस धरानले भारतको ७६ औँ स्वतन्त्रता दिवसको अवसरमा भूतपूर्व भारतीय सैनिकहरूलाई लठ्ठी र वाकर वितरण गरेको छ ।

सोमबार दिवसको अवसरमा शारीरिक रूपमा अशक्त बनेका ४ जना भूपू सैनिकलाई लौरो प्रदान गरेको क्लार्क धु्रव राईले जानकारी दिए । साथै उभिएर हिँड्न नसक्ने १ जनालाई वाकर प्रदान गरेको हो । उनले ७ जनालाई लौरो र ४ जनालाई वाकर प्रदान गर्ने तय गरे पनि उपस्थित नभएकाले ५ जनालाई मात्रै वितरण गरेको बताए ।

अफिसले दिवसको अवसरमा साउन २४ र २५ गते सम्पन्न अन्तर भूपू सैनिक ब्याडमिन्टन प्रतियोगिताको विजेता, उपविजेताहरूलाई पुरस्कार वितरण गरेको छ । प्रतियोगितामा सर्वाधिक अङ्क प्राप्त गरी भूपू समिति धरान विजेता बनेको थियो भने भूपू समिति दमक उपविजेता बनेको थियो ।

६० वर्षमाथिको सिङ्गलतर्फ धरान पहिलो र दमक दोस्रो हुन सफल भएको थियो । ६० वर्ष माथि डबल्सतर्फ पनि पहिलो र दोस्रो नै धरान भएको थियो । ५० वर्षमाथि डबल्सतर्फ भूपू समिति इलाम पहिलो भएको थियो भने धरान दोस्रो भएको थियो । ५० मुनिको डबल्सतर्फ भूपू समिति दमक पहिलो भएको थियो भने भूपू समिति धरान दोस्रो भएको थियो ।

महिला डबल्सतर्फ भूपू समिति धनकुटा पहिलो भएको थियो भने भूपू समिति दमक दोस्रो भएको थियो । कार्यक्रमको उद्घाटन मेजर भरत कनोजिया, प्रभारी अधिकारीले संयुक्त रूपमा गरेका थिए । साथै भारतको स्वतन्त्रताका लागि बलिदान दिने वीर, वीराङ्गनाहरूको सम्झनामा सहिद स्मारकमा माल्यार्पण गरिएको थियो । कार्यक्रममा दिल्ली पब्लिक स्कुलका विद्यार्थीहरूले नृत्य प्रदर्शन गरेका थिए ।