बिर्तामोड । नेतृत्वको बिषयलाई लिएर पुर्वी नेपालमा बसोवास गर्ने राजबंशी जाति बिभाजित भएका छन् । असार अन्तिम साता मोरङको कटहरीमा भएको अधिवेसनलाई अबैधानिक भन्दै राजबंशी समुदायले झापामा अर्काे अधिवेशन गर्ने भएका छन् ।

राजबंशी समुदायको हक हितका पक्षमा आवाज उठाउन २०५० सालमा स्थापना भएको ‘राजबंशी समाज विकास समिति’ यतिबेला दुई ध्रुवमा बिभाजित भएको छ । अध्यक्ष भिमराज चौधरीको कार्यशैलीको बिरोध गर्दै मोहन राजबंशीको समुहले झापामा छुट्टै अधिवेसन गर्ने भएको छ । मोहन राजबंशीको समुहले बिर्तामोडमा शनिबार (आज) अधिवेसन गर्ने भन्दै सम्पुर्ण तयारी पुरा गरेको जनाएको छ ।

भिमराज चौधरीले बिगत ८ बर्ष अध्यक्षको रुपमा नेतृत्व गरेको बुझिएको छ । असार ३० र ३१ गते अधिवेसन गरेर उनै चौधरी फेरी नेतृत्वमा आएपछि मोहन राजबंशीको समुह अर्काे अधिवेसनको तयारीमा जुटेको हो । पुर्व गृहराज्यमन्त्रीसमेत रहेका चौधरी राजबंशी समुदायमा प्रभावशाली ब्यक्तिका रुपमा चिनिन्छन् । मोरङको कटहरीस्थित आफ्नै गाउँमा अधिवेसन गरेर चौधरी पुन अध्यक्षमा निर्वाचित भएका हुन् ।

चौधरी अध्यक्षमा पुन निर्वाचित भएपछि असन्तुष्ट मोहन राजबंशी समुहले बिधान अनुसार अधिवेसन नगरेको आरोप लगाएको छ । झापाको बिर्तामोडमा पत्रकार सम्मेलन गर्दै राजबंशीको समुहले चौधरीसहित महासचिव सुवन्त राजबंशी, पुर्व केन्द्रिय सचिब चन्द्रप्रसाद राजबंशी लगायतले समितिलाई निजी कम्पनि सरह सञ्चालन गरेको आरोप लगाएको छ । प्रतिनिधिले निर्वाचन स्थगनको माग गर्दा पनि चौधरी समुहले जबरजस्ती गरेको आरोप असन्तुष्ठ पक्षको छ ।

प्रदेश नम्बर १ को तीन जिल्लामा बसोवास गर्ने राजबंशी समुदाय आवद्ध समितिको अधिवेसन गर्नका लागि गाउँ, नगर, जिल्ला अधिवेसन गर्नुपर्ने प्रावधान छ । चौधरी समुहले बिधान बिपरीत एकैपटक केन्द्रिय अधिवेसन गरेको आरोप असन्तुष्ट समुहको रहेको छ ।

झापाको बिर्तामोडमा हुने अधिवेसनका लागि सम्पुर्ण तयारी पुरा भएको आयोजकले जनाएको छ । अधिवेसनका लागि झापाका ११ स्थानीय तहबाट ५५, मोरङमा १० स्थानीय तहबाट ५०, सुनसरीबाट ५ र काठमाण्डौबाट २ जना प्रतिनिधिको सहभागिता रहने आयोजकले जनाएको छ । उपस्थित प्रतिनिधिमध्येबाट २१ सदस्यिय केन्द्रिय समिति गठन गरिने समेत बिधानमा ब्यवस्था छ । कार्यक्रमको सहजिकरण राजबंशी समुदायका अगुवा अभय राजबंशी, प्रेम राजबंशी लगायतले गरेका थिए ।