विजयपुर । धरान उपमहानगरपालिका, ट्राफिक प्रहरी र सम्बन्धित वडा कार्यालयसहितले धरान–२ देशीलाइनदेखि धरान–१ लक्ष्मी चोकसम्म एकतर्फी पार्किङ गर्ने निर्णय गरे पनि अहिले दुवै तर्फ पार्किङ हुने गरेको पाइएको छ ।

नियमन नहुँदा एकतर्फी पार्किङ निर्णयमै सीमित बन्न पुगेको छ । जिल्ला ट्राफिक प्रहरी कार्यालय र उपमहानगरले एकतर्फी पार्किङ गर्ने निर्णय गरे पनि नियमन नगर्दा एकतर्फी पार्किङ नाममा सीमित बनेको हो ।

भानुचोकनजिक देशीलाइनमा दुवैतिर पार्किङ गर्दा सडक साँघुरो भई अस्तव्यस्त भएको छ । दुवैतिर पार्किङ गरे पनि ट्राफिक प्रहरीसहित सम्बन्धित निकायले नियमन गर्ने कार्य गरेको पाइँदैन ।

एक महिनाअघि धरान उपमहानगरपालिका, जिल्ला ट्राफिक प्रहरी कार्यालय र सम्बन्धित वडा कार्यालयको संयोजकत्वमा दुईतर्फी पार्किङ गर्न नपाइने निर्णय गरिएको थियो । तर, हाल दुवैतर्फ अव्यवस्थित पार्किङ भइरहेको छ ।

उपमहानगरका बजार अनुगमन अधिकृत वेदप्रसाद सापकोटाले एकतर्फी मात्र पार्किङ गर्ने निर्णय कार्यान्वयन गरेको बताए । उनले निर्णय कार्यान्वयन ट्राफिक प्रहरीले गराउनुपर्ने बताए । उनले उपमहानगरले पनि नियमन गर्ने बताए ।

जिल्ला ट्राफिक प्रहरी कार्यालय सुनसरीका प्रमुख इन्स्पेक्टर श्यामकुमार बस्नेतले एकतर्फी पार्किङ पूर्णरूपमा कार्यान्वयन गरिरहेको दाबी गरे । उनले भने, ‘एकातिर हटाउँदै गयो । अर्कातिर राख्दै जान्छन् । एक महिनासम्म सम्झायौँ । अब कारबाही सुरु गरेका छौँ ।’ उनले कारबाही नगरी सचेत नहुने बताए ।

एक महिनाअघि माछाभौडीदेखि पुरानो बजार हुँदै लक्ष्मी सडकसम्म ‘वान वे’ पनि गरेको र भीडभाड पनि हुने भएकाले एकतर्फ मात्र पार्किङ गर्न निर्णय गरेको हो । सो क्षेत्रमा ‘नो पार्किङ’ लेखिएको बोर्ड पनि राखिएका छन् ।