विजयपुर । धरान उपमहानगरको बजार अनुगमनमा सबैभन्दा समस्या माछामासु पसलमा भेटिएको छ ।

बुधबार वाणिज्य तथा आपूर्ति मन्त्रालयको निर्देशन बमोजिम राष्ट्रिय अभियान अन्तर्गत इलाका प्रशासन कार्यालय धरानको नेतृत्वमा गरिएको बजार अनुगमनका क्रममा माछा र मासु पसलमा समस्या भएको पाइएको हो । धरान नगरप्रहरी प्रमुख विष्णु कोइरालाका अनुसार पसलमा प्रायः मरेका माछा भेटिएका थिए । उनले कुहिएको मासु पनि फेला परेको बताए । उनले अभियानका क्रममा भएकाले कारबाही नगरी सचेत गराएको बताए ।

उनले भने, ‘अब माछामासुका विज्ञसहित अनुगमनमा जान्छौं, त्यस्तो भेटिएमा सामान जफत गर्नुका साथै कारबाही पनि गर्छौं ।’ अनुगमनमा म्याद गुज्रेका, सडेगलेका, अखाद्य वस्तु पनि फेला परेका थिए ।

इलाका प्रशासन कार्यालय धरानका प्रमुख चूडाराज भट्टराईको नेतृत्वमा आन्तरिक राजश्व कार्यालय, कृषि शाखा, इलाका प्रहरी कार्यालय र नगर प्रहरीसहितले संयुक्तरूपमा अनुगमन गरेको नगर प्रहरी प्रमुख कोइरालाले जानकारी दिए । उनका अनुसार धरान–३ स्थित माछाभौडी, सदनरोड क्षेत्रमा अनुगमन गरेको हो ।

भेटेरिनरी, किराना पसल र माछा–मासु पसलमा अनुगमन गरिएको थियो । नगर प्रहरी प्रमुख कोइरालाले सबैभन्दा समस्या माछामासु पसलमा पाइएको बताए ।

साथै म्याद गुज्रेका, सडेगलेका, अखाद्य वस्तु बिक्री हुन नदिन र इजाजत विना व्यवसाय सञ्चालन हुन नदिन अनुगमन तथा कडाइ सुरु गरिएको हो । उनका अनुसार किराना पसलमा म्याद गुज्रेको अखाद्य वस्तु, मासुपसलमा कुहिएको मासु भेटिएको थियो ।

fish-anugaman