पथरी । कानेपोखरी गाउँपालिका क्षेत्रभित्रका सामुदायिक विद्यालयमा कक्षा ११ र १२ मा अध्ययन गर्ने विद्यार्थीको भर्ना र मासिक शुल्क कानेपोखरी गाउँपालिकाले तिरिदिने भएको छ ।

गाउँपालिकाले बुधबार सूचना निकाल्दै कक्षा ११ र १२ को शुल्कबारे जानकारी गराएको हो । गाउँपालिका क्षेत्रभित्र बसोबास गर्ने विद्यार्थीहरू गाउँपालिका क्षेत्रभित्रकै सामुदायिक विद्यालयमा अध्ययन गर्ने विद्यार्थीको लागि यो कार्यक्रम सुरु गरेको गाउँपालिका अध्यक्ष राजमती इङ्नामले बताइन् ।

कक्षा १२ सम्मको शिक्षा स्थानीय सरकारको दायित्व भएकोले यो वर्षदेखि लागू हुने गरी ‘गाउँपालिकाको छात्रवृत्तिसम्बन्धी ऐन २०७९’ निर्माण गरी लागू गरेको पालिकाका उपाध्यक्ष भोला अधिकारीले बताए ।

आर्थिक वर्ष २०७९/०८० देखि कक्षा ११ र १२ का प्रत्येक विद्यार्थीको भर्ना शुल्क १ हजार र मासिक शुल्क ४ सयको दरले गाउँपालिकाले व्यहोर्ने गरी गाउँपालिकाले ऐन निर्माण गरेको छ । सोही ‘गाउँपालिकाको छात्रवृत्तिसम्बन्धी ऐन २०७९’ मार्फत् यो कार्यक्रमा अघि सारिएको हो । अहिले गाउँपालिकाको जनसेवा मावि र शिक्षा विकास माविमा कक्षा ११ र १२ सञ्चालन हुँदै आएको छ ।

गाउँपालिकाले गाउँसभाबाट ‘प्राविधिक विधामा रोजगारी, कानेपोखरीका छोराछोरी’, एसईईपछि गाउँपालिका क्षेत्रभित्रका २ जना विद्यार्थीलाई ३ वर्षे प्राविधिक निःशुल्क शिक्षा प्रदान गर्ने, ‘निःशुल्क शिक्षा, पालिकाको इच्छा’, गाउँपालिका क्षेत्रभित्रका सामुदायिक विद्यालयमा कक्षा ११ र १२ मा अध्ययन गर्ने विद्यार्थीहरूको भर्ना शुल्क र मासिक शुल्क स्थानीय कानूनबमोजिम गाउँपालिकाबाटै व्यहोरिने, विद्यार्थीमैत्री फर्निचर, विद्यालयमा आधुनिक फिल्टर जडान, ‘एक वडा, एक मा.वि’ नीति ल्याइने, विद्यार्थीसँग अध्यक्ष, विद्यालय व्यवस्थापन समितिसँग उपाध्यक्ष, शिक्षकसँग प्रमुख प्रशासकीय अधिकृत र अभिभावकसँग वडाध्यक्ष, सुधारिएको बाल विकास केन्द्र र शिक्षक, कर्मचारी सम्मान, मातृभाषाको स्थानीय पाठ्यक्रम निर्माण गर्ने, स्थानीय पाठ्यक्रममा निर्माण गर्ने, छात्रावासको व्यवस्था गर्नेजस्ता कार्यक्रम पारित गरेको थियो ।