भोजपुर । कोरोना सङ्क्रमितको सङ्ख्या बढे पछि भोजपुरको टेम्केमैयुङ गाउँपालिकाका सम्पूर्ण विद्यालय बन्द गरिएको छ । शिक्षक, विद्यार्थी र अभिभावकलाई कोरोना पोजेटिभ भएपछि ६ दिनका लागि गाउँपालिकाभित्रका सबै विद्यालय बन्द गरिएको हो ।

गाउँपालिकाको निर्णयअनुसार मङ्गलबार साउन २४ देखि २९ गतेसम्म सम्पूर्ण विद्यालयहरू बन्द गरिएको गाउँपालिकाका शिक्षा शाखा प्रमुख राजन ढकालले बताए ।

अन्नपूर्ण, कोट, गोगनेलगायत विद्यालयका शिक्षक र विद्यार्थीहरूमा कोरोना सङ्क्रमण देखिएको उनले जानकारी दिए । ढकालका अनुसार अधिकांश विद्यार्थीहरूमा रुघाखोकी लाग्ने, ज्वरो आउने, टाउको दुख्नेलगायत लक्षण देखिएकाले पठन–पाठन बन्द गरिएको हो ।

विद्यार्थीहरूको अवस्था हेरेर बिदा थप गर्ने विषयमा निर्णय गरिने प्रमुख ढकालको भनाइ छ । यस्तै जिल्लामा कोरोना सङ्क्रमितको सङ्ख्या ५८ पुुगेको स्वास्थ्य कार्यालय भोजपुरका सूचना अधिकारी सुरेन्द्र बुढाथोकीले दिए  । गत साउन १७ गतेदेखि सोमबार सम्म १ हप्ताको अवधिमा ५८ जना सङ्क्रमित भएका हुन् ।

सङ्क्रमित हुनेमा टेम्केमैयुङ गाउँपालिकाका ५५ र रामप्रसाद राई गाउँपालिकाका ३ जना रहेको स्वास्थ्य कार्यालय भोजपुरले जनाएको छ ।