विराटनगर । प्रदेश १ मा कोरोना सङ्क्रमण बढेर गएको पाइएको छ । पछिल्लो दुई सातायता कोरोना सङ्क्रमितको सङ्ख्या बढेर गएको पाइएको हो ।

मङ्गलबार ७९ जनामा सङ्क्रमण देखिएको छ । पीसीआर परीक्षण गर्दा ५४ र एन्टिजेन परीक्षणमा २५ जनामा सङ्क्रमण पुष्टि भएको स्वास्थ्य मन्त्रालयले जनाएको छ । पीसीआर परीक्षणबाट सङ्क्रमित भएका ५४ मध्ये २५ महिला र २९ जना पुरुष रहेका छन् । सोमबार ७४ जनामा सङ्क्रमण देखिएको थियो । आइतबार ४५ जनामा सङ्क्रमण पुष्टि भएको स्वास्थ्य मन्त्रालयको अभिलेखमा देखिन्छ ।

सिकिस्त बिरामी न्यून
कोरोना सङ्क्रमितहरूको सङ्ख्या निरन्तर बढिरहेको प्रदेश १ मा सिकिस्त बिरामी हुनेको सङ्ख्या भने एकदमै न्यून पाइएको छ । कोरोनाको पहिलो र दोस्रो लहरका बेला सिकिस्त भई ज्यान गुमाउनेको सङ्ख्या धेरै भएको प्रदेशमा अहिले त्यो सङ्ख्या घट्नुका पछि खोपले प्रभावकारी काम गरेको स्वास्थ्यकर्मीको भनाइ छ ।

प्रदेशको कुल जनसङ्ख्याको ६५ प्रतिशत हाराहारी सङ्ख्याले खोपको पूर्ण मात्रा पाइसकेका कारण कोरोनाबाट सिकिस्त हुनेको सङ्ख्या घटेको प्रदेश सरकारको भनाइ छ । ‘अहिले सङ्क्रमितहरूको सङ्ख्या निरन्तर बढ्ने क्रममै छ’–प्रदेशस्थित स्वास्थ्य मन्त्रालयको प्रादेशिक स्वास्थ्य आपतकालीन कार्य सञ्चालन केन्द्रकी प्रमुख डा. सङ्गीता राईले भनिन् । उनका अनुसार हालसम्म प्रदेशका ६५ प्रतिशतले पूर्ण मात्राको खोप लगाइसकेका छन् ।

साउनयताकै सबैभन्दा धेरै सङ्क्रमित फेला परे पनि आइसीयुमा हाल ५ जना उपचारत रहेको र दुई जना एचडीयुमा उपचाररत रहेका छन् । यसअघि साउन पहिलो साता ६९ जनासम्म सङ्क्रमित फेला परेका थिए । सरकारले प्रदेश १ का दुईसहित देशभरका १७ अस्पतालमा कोरोना सङ्क्रमितहरूको निःशुल्क उपचार गर्ने जनाइसकेको छ । निःशुल्क उपचारका लागि प्रदेश १ को बीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान धरान र कोसी अस्पताल विराटनगरलाई सरकारले तोकेको  छ ।

मुख्यमन्त्री राई सङ्क्रमित
प्रदेश १ का मुख्यमन्त्री राजेन्द्रकुमार राईलाई कोरोना सङ्क्रमण देखिएको छ । सोमबार स्वाब परीक्षण गर्दा मुख्यमन्त्री राईसहित तीनजनालाई कोरोना सङ्क्रमण पुष्टि भएको मुख्यमन्त्रीका प्रेस सल्लाहकार बन्धु पोखरेलले जानकारी दिए । पीसीआर परीक्षण गर्दा मुख्यमन्त्रीसहित पत्नी शोभा पाठक र मुख्यमन्त्रीका राजनीतिक सल्लाहकार जीवन राईलाई समेत सङ्क्रमण देखिएको हो ।