विराटनगर । मोरङको कानेपोखरी गाउँपालिकाकोे ग्रामीण सुधार सामुदायिक वनभित्रबाट सखुवा जातको काठ तस्करी बढेको छ । कानेपोखरी गाउँपालिकाभित्र तीनवटा सामुदायिक वन तीन क्षेत्रमा रहेका छन् । यहाँको ग्रामीण सुधार सामुदायिक वन उपभोक्ता समिति क्षेत्र नं. १, २, र ३ नं. रहेको छ । यी तीनवटै सामुदायिक वनबाट रातको समयमा काठ तस्करी गर्ने गिरोह सक्रिय रहेका छन् ।

गिरोह चारकोसे जङ्गलभित्र प्रवेश गरेर सालको काठ तस्करी गरी स्थानीय काठ मिल र फर्निचरहरूमा बिक्री वितरण गर्दै आएको स्थानीय बताउँछन् । वनभित्रबाट चोरी भएको ४४ क्यूविक फिट सखुवाको काठ बिहीबार बरामद गरेपछि काठ तस्करी धन्दा बाहिरिएको हो ।

कानेपोखरी ४ र ६ मा पर्ने सामुदायिक वन क्षेत्रबाट सालको काठ चोरी गरी स्थानीय काठ मिलमा बिक्री गरेको सूचनाको आधारमा उपभोक्ता समितिका सदस्य, वनका कर्मचारी र सशस्त्र प्रहरीको टोलीले ४४ क्यूविक फिट काठ कानेपोखरी ५ र ६ नं. वडाबाट बरामद गरेको हो । यसअघि पनि उक्त सामुदायिक वनबाट चोरी तस्करी गरिएको काठ उपभोक्ता समिति र प्रहरीले बरामद गरेको थियो ।

सामुदायिक वनको आन्तरिक समस्याका कारण पाँच वर्षदेखि जङ्गलभित्र लडेका रुखहरूको घाट गद्दी गर्न सकेको छैन । लडेका रुखहरू जङ्गलभित्र रहँदा चोरी तस्करी हुने गरेको सामुदायिक वनसँग आबद्ध सदस्य बताउँछन् । एक हप्ताअगाडि वनभित्रबाट चोरी भएको काठ बरामद गरेको अध्यक्ष नवीन राईले बताए । वनले चोरी तस्करी नियन्त्रणका लागि आठजना हेरालु राखेको छ । उपभोक्ता समिति पनि दैनिक रूपमा खटिने गरेको छ ।

कानेपोखरी सव–डिभिजन प्रमुख तुलसी यादवले सामुदायिक वनको समिति निष्क्रिय भएको कारणले वनभित्र चोरी तस्करी बढेको बताए । तस्करी बढेकाले रोकथाम र नियन्त्रणमा चुनौती थपिएको उनले बताए । सव–डिभिजन कार्यालयले चोरी तस्करी बढेको जनगुनासो आएकोले वनको सुरक्षामा सक्रियता बढाएको उनले बताए ।