बेलबारी । मोरङ बेलबारीका उद्यमी महिलाहरू लघुवित्तको कर्जा चुक्ता गर्न नसक्दा समस्यामा परेका छन् । लघुवित्तबाट लिएको कर्जा तिर्न नसक्दा उनीहरू विभिन्न संस्थाहरूमा ऋण माग्नका लागि धाउन बाध्य भएका हुन् ।

एउटा लघुवित्त संस्थाबाट निकालेर अर्कोमा किस्ता तिर्ने काम गर्दै कर्जाको दलदलमा फस्दै गएका छन् । ऋण तिर्न समय माग गर्दा पनि लघुवित्तहरूले समय नदिने र घरमै गएर धम्क्याउने गरेको उनीहरूको आरोप छ । सर्वसाधारणलाई सहज वातावरण मिलाउने किसिमले खोलिएको लघुवित्तहरूबाट नै आम नागरिक अहिले दुःख पाइरहेको लघुवित्तमा आबद्ध महिलाहरूको गुनासो छ ।

सस्तोमा ऋण प्रवाह गर्ने उद्देश्यका साथ वितरण गरिएको ऋणले सर्वसाधारण नागरिकलाई महँगो ब्याज तिर्न बाध्य बनाएको बेलबारी–११ की कुमारी विश्वकर्मा बताउँछिन् ।

सस्तो ब्याजमा ऋण दिने प्रलोभनमा पारी लघुवित्तले धान्नै नसकिने ब्याज लिने गरेको उनको भनाइ छ । पहिला लघुवित्तहरूले सस्तो ब्याजमा ऋण दिने प्रलोभनमा पार्ने गरेको र ऋण निकालेर तिर्दा अलि समय लागे वा आकस्मिक समस्या आइपरे पनि समस्या नबुझिदिने गुनासो लघुवित्तमा आबद्ध महिलाहरू बताउँछन् ।

बिरामी हुँदासमेत समस्या नबुझ्ने गरेको, घरमा भएको सामान बेचेर हुन्छ कि घर बेचेर हुन्छ तिर्नुपर्छ अरू केही विकल्प छैन भन्दै दैनिक फोनमा र कहिलेकाहीँ त घरमै आएर धम्काउनेसमेत गरेको बेलबारी–११ लक्ष्मीमार्गकी पार्वती राई (नाम परिवर्तन) बताउँछिन् । विभिन्न लघुवित्तको दबावले दिनरात सताउने गरेको महिलाहरूले दुःखेसो पोखेका छन् । उनले ऋण लिएपछि तिर्नु आफ्नो कर्तव्य भए पनि लघुवित्तहरूले दिनदिनै दबाव दिँदा समस्या उत्पन्न भएको बताइन् ।

बेलबारी नगरपालिका क्षेत्रमा मात्रै पनि दर्जनभन्दा बढी लघुवित्तका शाखाहरू रहेका छन् । जसमा एकै महिला ती सबै लघुवित्तको समूहमा आबद्ध छन् । विना धितो समूह बनेकै भरमा सहज तरिकाले ऋण पाउने भएपछि ग्रामीण महिलाहरूको लघुवित्तप्रति आकर्षण बढेको हो ।

महँगो ब्याजदरमा लिइने उक्त ऋण भरपर्दो आम्दानीको स्रोत नभएपछि र धेरै समूहमा भएको कारण नियमित किस्ता तिर्न समस्या भइरहेको हुनसक्ने बेलबारी–११ का वडाध्यक्ष विक्रम राईले बताए । नियामक निकायको उचित समन्वय र अनुगमनको अभावमा गाउँका महिलाहरू लघुवित्तको ऋणमा दिन प्रतिदिन भासिँदै गइरहेका छन् ।