विजयपुर । उद्योगीहरूले उद्योग समस्याग्रस्त अवस्थामा पुगेको बताएका छन् ।

मङ्गलबार उद्योग, वाणिज्य तथा आपूर्ति मन्त्री दिलेन्द्रप्रसाद बडूले ३ औद्योगिक क्षेत्रको स्थलगत निरीक्षण भ्रमणपश्चात् आयोजित कार्यक्रममा उद्योगीहरूले उद्योग समस्यामा रहेको बताए । तीन कुने औद्योगिक क्षेत्र उद्योग सङ्घका प्रतिनिधि कृष्णकुमार अग्रवालले सरकारकातर्फबाट सहुलियत नपाउँदा तीनकुने औद्योगिक क्षेत्रमा रहेका कतिपय उद्योगहरू बन्द भएको बताए ।

उनले भने, ‘२०३० सालमा १८ वटा उद्योग स्थापना भएका थिए । अहिले ३३ वटा छन् । तर, केही उद्योग बन्द पनि भए ।’ उनले सरकारले उद्योगीसँग भाडा लिए पनि सेवा नदिँदा बन्द गर्न पुगेको बताए । उनले भने, ‘उत्पादन प्रविधि नयाँ–नयाँ आए । हाम्रो भवन संरचनादेखि ढल, सडक, विद्युत् संरचना पुरानै अवस्थामा छन् ।’ उनले उद्योग सञ्चालनमा पानीसमेत अभाव भएको बताए ।

सरकार उद्योग सञ्चालनमा उदासिन बनेको बताए । उनले भने, ‘सरकारले उद्योग स्थापना गर्न प्रयास गरेन ।’ उनले पानीको समस्यामा समाधानका लागि सामूहिक बोरिङ सञ्चालनको अनुमति दिनुपर्ने बताए । उनले भने, ‘एक अध्ययन प्रतिवेदनले भूमिगत पानीको राम्रो सम्भाव्यता रहेको देखाएको छ ।’

कम्पनी व्यवस्थापन कार्यालयले औद्योगिक क्षेत्रमा जेनेरेटरसमेत नदिएको दुःखेसो गरे । विद्युत् महसुलमा सहुलियत दिएमा लागत मूल्यमा ह्रास आउने बताए । उद्योगीको वित्तीय समस्या पनि रहेको छ । औद्योगिक क्षेत्रको जग्गा उद्योगीको नाममा नहुँदा बैङ्क तथा वित्तीय संस्थादेखि ऋण लिएर लगानी गर्न नपाएको बताए । अग्रवालले उचित मूल्यमा जग्गा उद्योगीलाई दिन माग गरे । उनले भने, ‘औद्योगिक क्षेत्रको जग्गा उचित मूल्यमा उद्योगीलाई बिक्री गरियोस् ।’

उनले जग्गा र भवनको क्षेत्रफल पर्याप्त नहुँदा आधुनिक प्रविधि जडान गर्न नसक्दा उत्पादन लागत बढी पर्न जाने बताए । औद्योगिक क्षेत्रको भाडा ९५ प्रतिशत वृद्धि गरेकोमा उद्योगीहरूले आपत्ति जनाएका छन् । अग्रवालले भने, ‘८ हजार ३ सय ३१ रुपैयाँ भुक्तानी गर्दै थियौँ । अहिले १६ हजार २ सय रुपैयाँ तिर्न निर्देशन आएको छ, हामी त्रसित भएका छौँ ।’ दुई वर्षदेखि पूर्ण अवस्थामा उद्योग सञ्चालन गर्न नसकेको उनले बताए ।

सुनसरी उद्योग वाणिज्य सङ्घका अध्यक्ष विजय श्रेष्ठले पर्यटन उद्योगको विकासका लागि विजयपुर–चतरा केबुलकार सञ्चालन गर्न मन्त्री बडूलाई माग गरे । उनले जग्गा प्लटिङले मूल्य वृद्धि भई उद्योग खोल्न नसक्ने अवस्था आएकाले औद्योगिक क्षेत्रका लागि जग्गा वर्गीकरण गर्नुपर्ने बताए । साथै तीनकुने औद्योगिक क्षेत्रमा जग्गा कम भएकाले औद्योगिक क्षेत्रसँगै भएको रडियो नेपालको जग्गा दिलाउन माग गरेका छन् ।

उद्योगीहरू समस्याबीच उद्योग सञ्चालन गरेको बताएकाले मन्त्री बडूले बन्द रहेका उद्योग सञ्चालन गर्ने बताएका छन् । सरकारी उद्योगहरू सञ्चालन गर्न लागेको बताए । उनले भने, ‘नेपाल सरकारको विराटनगर जुट मिल बन्द छ । जुन मिलमा राजनीतिक इतिहास पनि जोडिएको छ ।’ उनले नेपालमा सरकारले सञ्चालन गरेका धेरै उद्योगहरू बन्द रहेको बताए ।  उनले भने, ‘बन्द हुनुको खास कारण के हो र चलाउनका लागि के गर्नुपर्छ, स्थलगत रूपमा बुझ्न आएको हुँ ।’ उनले अन्य औद्योगिक क्षेत्रका उद्योगको पनि सञ्चालनको अवस्था बुझ्न आएको बताए ।

उनले राष्ट्रिय उत्पादन न्यून भएकाले आयात बढेको बताए । उनले भने, ‘मुलुक आयातमा निर्भर भएको अवस्था छ । आयात प्रतिस्थापनका लागि उद्योग सञ्चालन आवश्यक छ ।’ उनले सरकारले उद्योग सञ्चालन गर्ने नीति लिएको बताए । उनले भने, ‘बजेट पनि केन्द्रित गरिएको छ ।’ उनले सरकारी उद्योगहरूमा वाह्य पुँजी भित्र्याउने र निजी क्षेत्रलाई पनि लगानीको वातावरण बनाउने बताए । उनले भने, ‘निजी क्षेत्रलाई चलायमान बनाउन नीतिगत निर्णय गर्दै छौँ ।’

उनले भूमिको सीमा बढाउने निर्णय प्रक्रियामा रहेको बताए । ६० प्रतिशतभन्दा बढी निर्यात गर्नेलाई विशेष सहुलियत दिएको बताए । नेपाल सरकारका जुट मिलसहित ९ वटा उद्योग थलिएको बताए । उनले उद्योगीको भाडा पुनरावलोकन गर्ने  र रेडियो नेपालको जग्गाका विषयमा प्रक्रिया अघि बढाउने बताए ।