विराटनगर । स्वास्थ्य बिमा बोर्डले मोरङको बुढीगंगा २ स्थित विराट मेडिकल कलेज टिचिङ हस्पिटलको स्वास्थ्य बिमा कार्यक्रम अन्तर्गत सञ्चालन भइरहेको बिलिङ सफ्टयेर बन्द गरिदिएको छ । मङ्गलवार दिउँसो १० बजेबाट स्वास्थ्य बिमाको अभिलेखीकरण गरिने सफ्टयेर स्वास्थ्य बिमा बोर्डले जानकारी बिना बन्द गरिदिएको हो ।

बिमाको सफट्यर स्वास्थ्य बिमा बोर्डले दिएको युजर आइडी हस्पिटललाई दिएको थियो । स्वास्थ्य बिमा मार्फत उपचार गर्न आउने बिरामीको अभिलेखीकरण उक्त सफ्टयेरबाट समिट गरिँदै आएकोमा मङ्गलवार दिउँसोबाट एक्कासि रूपमा बिमा बोर्डले बन्द गरिदिएको हस्पिटलका प्रशासन प्रमुख प्रमेश राज देवकोटाले जानकारी दिए । ‘आर्थिक विपन्न बिरामीहरू आउने भएकोले हामीले स्वास्थ्य बिमा कार्यक्रम अन्तर्गत बिरामीहरूलाई स्वास्थ्य उपचार गरिरहेका थियौँ । यसै क्रममा मङ्गलवार दिउँसोबाट बिमाको विवरण बिलिङ गर्ने सफ्टयेर बन्द गरिदिएको छ,’ उनले भने, ‘सफ्टयेर बन्द भएको विषयमा बिमा कम्पनीलाई जानकारी गराउँदा पनि अहिलेसम्म कुनै प्रतिक्रिया आएको छैन ।’ बिमा कम्पनीले आफैले हस्पिटलको सफ्टयेर कुनै जानकारी बिना बन्द गरिदिएपछि अस्पतालमा भर्ना भएर उपचार भइरहेको बिरामीलाई समस्यामा परेका छन् ।

स्वास्थ्य बिमा कार्यक्रम मार्फत हस्पिटल भर्ना भएका ७ जना बिरामी छन् । भर्ना भएका बिरामीले स्वास्थ्य बिमा मार्फत उपचार गर्दै आएका थिए । तर, बिमा कम्पनीले एक्कासि बिमाको विवरण बिलिङ गर्ने सफ्टयेर बन्द गरिदिएपछि उपचार गरेको पैसा कसरी तिर्ने भन्ने पिरले सताएको बिरामीका आफन्तहरू बताउँदै आएका छन् ।

विराट टिचिङ हस्पिटलले २०७४ चैत २० गतेबाट स्वास्थ्य बिमा कार्यक्रम सुरु भएको थियो । स्वास्थ्य बिमाबाट दैनिक १ हजार देखि १ हजार ५ सय बिरामीले ओपिडी सेवा लिने गरेका थिए । विराट टिचिङले स्वास्थ्य बिमा मार्फत उपचार गरेको ५० करोड रुपैयाँ पाउन बाँकी रहेको प्रशासन प्रमुख देवकोटाले बताए । ५० करोड मध्ये १५ करोड भन्दा बढी औषधीको पैसा पाउन बाँकी रहेको उनले बताए ।

*यस अघि तस्बिर अन्यथा पर्न गएकोमा सच्याइएको छ ।