धरान उपमहानगरपालिकामा करार अवधि सकिएका करारका कर्मचारीहरूलाई हाजिरी गर्न रोक लगाइएको छ । यसरी हाजिरी गर्न रोक लगाइएकाहरूमा  उपमहानगरपालिकाले सञ्चालन गरेका विभिन्न कार्यक्रमहरूमा कार्यरत ९ जना, प्राविधिक तर्फका ८ जना र एक जना नगर प्रहरी रहेका छन् । 

गत असार ३२ गते करार अवधि सकिएका ती कर्मचारीहरूको करार अवधि थप्ने वा नथप्न भन्ने विषय अन्योलमै रहिरहेको अवस्थामा हाजिरी खातामा नै सूचना टाँसेर उपमहानगरपालिकाले उनीहरूलाई हाजिर गर्न रोकेको हो ।

प्रमुख प्रशासकीय अधिकृतको निर्देशन बमोजिम भनी हाजिर नगर्न भएका कर्मचारीहरूमा इन्जिनियर सौहार्द श्रेष्ठ, प्रभात तामाङ, सब–इन्जिनियर कमल बहादुर राई, सागर रसाइली, सुरज राई, विजयकला राई रहेका छन् भने अनमी चेपनाथ धमला र अर्जुन राई रहेका छन् । 

त्यस्तै कार्यक्रम तर्फका कर्मचारीहरूमा जय श्रेष्ठ, भक्तबहादुर रोक्का, राजेन्द्रकुमार राई, गीता थापा मगर, अर्जुन राई, सुरज कार्की, प्रकाश राई, धन बहादुर कँडेल, उमेर सिंह राई रहेका छन् । त्यस्तै सूचनामा नगर प्रहरी देवाहाङ्ग राईलाई पनि हाजिर नगर्न भनिएको छ । 

यसरी हाजिर गर्न रोक लगाएकाहरूमा  कार्यक्रम अन्तर्गत नियुक्त भएकाहरू राजनीतिक नियुक्त भएकाहरू रहेको वरिष्ठ प्रशासकीय अधिकृत गणेशप्रसाद खतिवडाले बताएका छन् । उनले भने " वहाँहरूलाई अघिल्ला जनप्रतिनिधिहरूले विभिन्न कार्यक्रममा नियुक्त गर्नु भएको हो ।  कुन मेयरले नियुक्त गर्‍यो त्यो मेयर वा जनप्रतिनिधिको कार्यकाल सकिएसँगै वहाँहरू पनि जानुपर्ने हुन्छ । अहिले आएका जनप्रतिनिधिहरूले वहाँहरूलाई नै दोहोर्‍याउने वा अरू कसैलाई राख्ने भन्ने निर्णय गर्नुहुन्छ । "

खतिवडाले प्रविधिहरूको हकमा भने लामो समयसम्म करारमै राख्न नमिल्ने भन्ने कानुनी समस्या देखिएको उनीहरूलाई हाजिर गर्न रोक लाएको बताएका छन् । उनले भने " प्राविधिकहरूमा साबिकको पाचँकन्य, विष्णु पादुका हुँदा देखिकै कर्मचारीहरू हुनुहुन्छ । लोक सेवाले लामो समयसम्म करारमा राख्न नमिल्ने बताएको छ ।"

उनले ती कर्मचारीहरूको करार अवधि थपिना वा नथपिने भन्ने एक दुई दिनमै टुङ्गो लाग्ने बताएका छन् । 

हाजिर रोक्का गरेकासहित २ सयको हाराहारीमा करारका कर्मचारी रहेकोमा अन्यको हकका समस्या नदेखिएकाले करार अवधि थप भइसकेको खतिवडाको  बताएका छन् ।