विजयपुर । नेपाल सुकुम्बासी बस्ती संरक्षण समाजले सुकुम्बासीलाई घर निर्माणका लागि घुम्ती कोष स्थापना गर्न माग गरेको छ ।

बुधबार समाजले धरान उपमहानगरपालिकाका प्रमुख हर्कराज राईलाई ११ बँुदे ध्यानाकर्षण पत्र बुझाउँदै सुकुम्बासीलाई घर निर्माणका लागि घुम्ती कोष स्थापना गर्न माग गरेको हो ।

समाजले फास्ट ट्रयाकबाट लालपुर्जा वितरण गर्न, भिआइपीका सेवा, सुविधा खारेज गरी बिदाका दिन सरकारी गाडी सञ्चालनमा रोक लगाउन, विद्युत् र खानेपानीको मिटर जडान निःशुल्क गर्न, सुकुम्बासीबाट लिएको धरौटी तत्काल फिर्ता गर्न र धरौटी राख्ने व्यवस्था हटाउन माग गरेको छ ।

त्यस्तै एक सरकारी कार्यालय एक बसको व्यवस्था गर्न, शिक्षा र स्वास्थ्य निःशुल्क बनाउन पहल गर्न, घरधुरी करलाई वार्षिक ५० रुपैयाँ बनाउन, मूल्य वृद्धि नियन्त्रण गर्न, सुकुम्बासी क्षेत्रको प्राकृतिक विनाश नियन्त्रण तथा बृहत्तर सुकुम्बासी क्षेत्र विकास कोष स्थापना गर्न, जोखिमयुक्त स्थानमा बसेकालाई जोखिममुक्त गराउन माग गरेको हो ।

सुकुम्बासीलाई घर बनाउन घुम्ती कोष स्थापना गरी ५० हजारदेखि ५ लाख रुपैयाँसम्म ऋण सहयोग गर्न, सुुकुम्बासीलाई बसोबास गरेकै स्थानमा श्रेस्ता कायम गर्न र सुकुम्बासी र नगरको समन्वयमा नमुना पालिका बनाउन माग गरेको छ ।