धरान । मोरङको बेलबारी नगरपालिका–१० भाउन्नेको जङ्गलमा सडेको अवस्थामा महिलाको शव फेला परेको छ ।

जिल्ला प्रहरी कार्यालय मोरङका अनुसार भाउन्नेको सिर्जना सामुदायिक वनभित्र मङ्गलबार महिलाको शव फेला परेको हो । प्रहरीका अनुसार करिब ४५ वर्ष उमेरको पहिचान नखुलेको महिलाको शव सड्दै गरेको अवस्थामा फेला परेको हो ।

निगुरो टिप्न हिँडेका स्थानीयले महिलाको शव देखेपछि प्रहरीलाई खबर गरेका थिए । इलाका प्रहरी कार्यालय बेलबारीको टोलीले शवलाई पोष्टमार्टमका लागि धरानस्थित बीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानमा पठाएको जनाएको छ ।

जिल्ला प्रहरी कार्यालयका डिएसपी राजन कार्कीका अनुसार दुर्गन्धित भएको अवस्थामा शव फेला परेको थियो । शवको पहिचान गर्ने कार्य भइरहेको र घटना के कारणले भएको हो, त्यस विषयमा खोजीनीति सुरु गरिएको उनले जानकारी दिए ।

प्रारम्भिक जाँचबुझ गर्दा महिलाको शरीरमा चोट र निलडाम नदेखिएकाले पनि घटनाको विषयमा पोष्टमार्टम रिपोर्टबाट मात्रै सबै कुरा खुल्ने जनाइएको छ ।